FLASH NEWS

सीआईबीलाई बयान दिएर अस्पताल फर्किए पूर्वसभामुख महरा


नेपाल आवाज ८ चैत्र २०८०, बिहीबार १७:२३ मा प्रकाशित ६०१ पाठक संख्या

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वसभामुख कृष्णबहादुर महराको बयान लिएको छ ।


महरा बयान दिन थापाथलीस्थित नर्भिक अस्पतालबाट लैनचौरस्थित सीआईबी कार्यालय पुगेका हुन्। महरा दिउँसो १ बजेतिर बयान सकेर अस्पताल फिर्ता भएका छन् ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले मुद्दा चलाउनुपर्ने सिफारिस गरेपछि सीआईबीले महरालाई कपिलवस्तुबाट गत सोमबार पक्राउ गरिएको थियो ।

जिल्ला अदालतले महरालाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । उनी बिरामी भएकाले नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

जाँचबुझ आयोगले सुन तस्करीमा जोडिएका चिनियाँ नागरिक दावाजिन वाङसँगको फोन सम्पर्क र अन्य परिस्थितिजन्य प्रमाण भेटिएको भन्दै महरामाथि कारबाही गर्न सफारिस गरेको थियो ।

१ चैतमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई आयोगले बुझाएको ४८५ पृष्ठ लामो प्रतिवेदन अहिले सीआईबीले अध्ययन गरिरहेको छ । यसअघि आयोगले २५ माघमा सिंहदरबारस्थित कार्यालयमा बोलाएर महरासँग बयान लिएको थियो ।

उक्त बयानका क्रममा समेत महराले दाओजिन वाङसँग आफ्नो सम्पर्क रहेको समेत स्वीकार गरेका थिए । त्यस्तै विद्युतीय चुरोट भेपमार्फत भएको ९ किलो सुन तस्करीमा समेत विमानस्थलका कर्मचारीलाई फोन गरेको विषय महराले स्वीकार गरेका थिए ।

भेपमार्फत भको सुन प्रकरणमा समेत महराले गत १५ असोजमा सीआईबीमा बयान दिएका थिए । दाओजिनसँग आफ्नो पुरानो चिनजान रहेको महराले सीआईबी समक्ष स्वीकारेका थिए ।