FLASH NEWS

श्रीमान‍्को कोदालो प्रहारबाट घाइते भएकी श्रीमतीको मृत्यु


नेपाल आवाज ८ चैत्र २०८०, बिहीबार २०:४६ मा प्रकाशित ५७७ पाठक संख्या

बैतडीमा कोदालो प्रहारबाट घाइते भएका तीन जनामध्ये एकको मृत्यु भएको छ।घाइते भएकी ५६ वर्षीया पार्वती धामीको डिलाशैनी अस्पताल धामीगाउँमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। आज(बिहीवार) बिहान डिलाशैनी गाउँपालिका–७ का ६२ वर्षीय किसनसिंह धामीले श्रीमतीसहित ३ जनालाई कोदालो प्रहार गरेका थिए।


कोदालो प्रहारबाट गम्भीर घाइते भएकी पार्वतीको मृत्यु भएको र अन्य दुई जनालाई कोहलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वपर्षीय सुभाष कलौनी र गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्टलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत कोहलपुर पठाइएको छ।

कलौनी र भट्ट धामीको घरमा डेरा गरी बस्दै आएका थिए। घटनाको कारण भने खुलेको छैन। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए।