FLASH NEWS

नेपाल प्रहरीको कमाण्डो तालिमको दिक्षान्त समारोह सम्पन्न


नेपाल आवाज ९ चैत्र २०८०, शुक्रबार १८:५६ मा प्रकाशित ९४९ पाठक संख्या

नवलपरासी – नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम) मा संचालित नवौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह सम्पन्न भएको छ ।


प्रहरी महानिरीक्षक (आईजीपी )बसन्तबहादुर कुँवरको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा दिक्षान्त समारोह सम्पन्न गरिएको हो ।

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरेका थिए ।

प्रशिक्षार्थीहरूलाई तालिममा हासिल गरेका युक्तिहरूलाई व्यक्तिगत लाभ भन्दा पनि नागरिकको सुरक्षाको लागि प्रयोग उनले निर्देशन दिएका थिए ।

सम्बोधनको क्रममा उनले नेपाल प्रहरीकै अत्यन्त कठिन, मानसिक र शारीरिक दुवै पक्षबाट चुनौतिपूर्ण रहेको तालिम सफलता पूर्वक सम्पन्न गर्ने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई बधाई दिए । तालिमको अवधिमा प्राप्त गरेका सीप र कौशल प्रहरीको व्यावसायिक जीवनमा मात्रै नभई व्यक्तिगत जीवनका अन्य कैयौँ पक्षमा समेत उपयोगी र लाभदायक हुने महानिरीक्षक कुँवरले  उल्लेख गरे ।
समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १८ जना र प्रहरी जवान ९० जना गरी जम्मा १ सय १४ जनाको सहभागिता रहेको बताए ।

उक्त समारोहमा प्रशिक्षार्थीहरुले इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ अभ्यास, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेसन, स्याण्ड मोडल बिफ्रिङ, हतियार खोलजोड डेमोन्स्ट्रेसन, बाधापार डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए ।

समारोहमा सुनवल नगरपालिकाका प्रमुख, रामग्राम नगरपालिकका प्रमुख, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जन प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।