FLASH NEWS

केजरीवाल बारे अमेरिकी टिप्पणीप्रति भारतको आपत्ति


नेपाल आवाज १४ चैत्र २०८०, बुधबार १५:१३ मा प्रकाशित ४५१ पाठक संख्या

काठमाडौँ । भारतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेको विषयमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइप्रति कडा आपत्ति जनाएको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको टिप्पणीको कडा आलोचना गरेको छ ।


विज्ञप्तिमा भनिएको छ- भारतका केही कानुनी प्रक्रियामा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको टिप्पणीको हामी कडा आलोचना गर्छौँ । कूटनीतिमा देशहरूले अरूको सार्वभौमसत्ता र आन्तरिक मामिलाहरूको सम्मान गर्ने अपेक्षा गरिन्छ। लोकतान्त्रिक मुलुकबाट यो अपेक्षा झनै बढ्छ । भारतको कानुनी प्रक्रियाहरू स्वतन्त्र न्यायपालिकामा आधारित छन् जुन वस्तुनिष्ठ र समयसापेक्ष न्याय प्रदान गर्न प्रतिबद्ध छ । यसलाई प्रश्न गर्नु अनुचित हो ।

यस अघि दिल्लीका मुख्यमन्त्री केजरीवालको गिरफ्तारी बारे अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले मुख्यमन्त्री केजरीवालको विषयमा निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रियाको अपेक्षा गरेको बताएका थिए ।

यसअघि जर्मनीले पनि दिल्लीका मुख्यमन्त्रीलाई निष्पक्ष सुनुवाइका लागि अपील गरेको थियो । त्यसपछि भारतले जर्मन दूतावासका उपप्रमुखलाई बोलाएको थियो । जर्मन विदेश मन्त्रालयका प्रवक्ताको भनाइलाई भारतको आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै भारतले कडा आपत्ति जनाएको थियो ।

केजरिवाल दिल्ली सरकारको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा हाल प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहेका छन् । आम निर्वाचन अघि केजरीवाललाई पक्राउ गरिएको भन्दै सरकारको आलोचना भइरहेका बेला जर्मनी र अमेरिकाले यस विषयमा टिप्पणी गरेका थिए ।