FLASH NEWS

डीएसपीको बढुवामा कमजोरी भएको गृहमन्त्री लामिछानेको स्वीकार,आईजीपीसँग सम्बन्धमा खटपट


नेपाल आवाज १९ चैत्र २०८०, सोमबार २१:४३ मा प्रकाशित ५७१ पाठक संख्या

काठमाडौं – नेपाल प्रहरीका डीएसपीको बढुवामा कमजोरी भएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले स्वीकार गरेका छन् । आन्तरिक छलफलमा यस विषयमा गलत भएको टिप्पणी उनको छ । तर, यसको दोष उनले प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरमाथि लगाएका छन् ।


गत बिहीबार भएको बढुवा सिफारिसमा पहिलो नम्बरका डीएसपी प्रदीप कुमार क्षेत्री नै छुटेका थिए । १२ औँ नम्बरका विनोद घिमिरे र नवौँ नम्बरका सन्तोष तामाङलाई बढुवा गर्न यसरी पहिलो नम्बरका क्षेत्री र सातौँ नम्बरका नारायण रंजितकारमाथि अन्याय भएको थियो । यो विषय सोमबार संसदमा समेत उठेको छ ।

जस कारण गृह मन्त्रालय नेतृत्व र प्रहरी नेतृत्वमाथि प्रश्न उठेको छ । मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री लामिछाने बढुवाको सबै अधिकार आईजीपी कुँवरलाई दिएको दाबी गरेका छन् । बढुवामा गृहको प्रत्यक्ष भूमिका हुँदैन । गृहमन्त्री नेतृत्वको समितिले बढुवा सिफारिस गर्दछ ।

स्रोतका अनुसार व्यक्तिगत रूपमा गृहमन्त्री लामिछानेले कसैलाई बढुवा गर्न दबाब पनि दिएका थिएनन् । तर, बढुवामा बालुवाटार भने हाबी भएको थियो । सोही कारण पनि १ नम्बरका छुट्दा १२ नम्बरका डीएसपी विनोद घिमिरे बढुवामा परेका हुन् । घिमिरे प्रधानमन्त्री प्रचण्डका पूर्वपिएसओ हुन् ।

लामिछानेले गृह मन्त्रालय सम्हालेपछि भएको बढुवासम्बन्धी पहिलो निर्णय थियो । जसमा लामिछाने बदनाम भएपछि प्रहरी महानिरीक्षक कुँवरसँग रिसाएका छन् । अब इन्स्पेक्टरबाट डीएसपी बढुवामा झन् ठुलो मारामार सुरु भइसकेको छ । डीएसपीका २० पदमा ९८ इन्स्पेक्टरबीच बढुवाको टक्कर छ ।