FLASH NEWS

सबै मिलौँ, कसैले कसैलाई निषेध नगरौँः पूर्वराजा ज्ञानेन्द्र शाह


नेपाल आवाज ३० चैत्र २०८०, शुक्रबार १८:१२ मा प्रकाशित ८९५ पाठक संख्या

काठमाडौँ – पूर्वराजा  ज्ञानेन्द्र शाहले व्यवस्था बदलिए पनि देशमा गुणात्मक परिवर्तन हुन नसकेको बताएका छन्।


नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले जनताको सुख समृद्धिमा सुधार नहुनु चिन्ताको विषय भएको बताएका हुन्।

‘नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रुप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन सकेको छैन। आज आम नेपालीको चिन्ता यही विषयमा छ। न देशको गौरब गरिमा बढेको छ, न त देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार आएको छ। जान्ने बुझ्ने बुढापाकाहरु अतीतलाई सम्झेर दिक्दारीमा देखिन्छन् त नयाँ युवा पुस्ता देशमा आफ्ना सुनौलो भविष्य नदेखेर भौंतारिएका छन्,’ पूर्वराजा शाहले भनेका छन्।

देशको युवा शक्ति पलायन हुँदै जानु गम्भीर विषय भएको उनको भनाइ छ। उनले भनेका छन्, ‘देशको बौद्धिक समाज उदासीन हुँदै जानु र होनहार युवा जनशक्ति पलायन हुँदै जानु, राष्ट्रको उत्थानका निम्ति गम्भीर जोखिमपूर्ण विषय हो। शिक्षा, स्वास्थ्य, इलम, उद्यम, उत्पादन, लगानी, व्यापार, व्यवसाय र रोजगारीको ब्यवस्था खस्किँदै जानु आजको विडम्बना हो।’

उन्नत राजनीतिक विधिले आशा जगाउन सक्नुपर्नेमा देशमा त्यसो हुन नसकेको पूर्वराजा शाहको बुझाइ छ।  उनी भन्छन्,’उन्नत राजनीतिक विधि विधानले उच्चत्तम उपलब्धि र आशा जगाउन सक्नु पर्दछ। जनतामा उत्साह पैदा गर्न सक्नु पर्दछ। तर हामीकहाँ दाँयाबाँया जता पनि लाग्ने, निश्चित गन्तव्य र गतिमा अडान राख्न नसक्ने अस्थिर अवस्थाले आफ्नै आशा आकांक्षा र भरोसा खल्बलिँदै गएको छ। यस्तो हुनु राष्ट्रिय चिन्ताको कुरा हो। त्यसैले अब त्यो सबै कुराको पुनरावलोकन गरौँ, गम्भीर भएर सोचौँ, सबै मिलौँ, कसैले कसैलाई निषेध नगरौँ र सही चिन्तनको माध्यमबाट निष्कर्षमा पुगौँ।’