FLASH NEWS

वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने गगन थापाको दाबी


नेपाल आवाज ८ बैशाख २०८१, शनिबार २०:१६ मा प्रकाशित ४१५ पाठक संख्या

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन्।


शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ काट्न नसक्ने जिकिर गरे। उनले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको बताए।

चुनावअघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको उनको भनाइ थियो। उनले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाइ गर्ने बेला आएको बताए।

उनले चुनावअघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको दाबी गरे। इलामबाट नेपालमा चुनावअघिको गठबन्धनको राजनीति चल्दैन भन्ने सन्देश दिन जरुरी रहेको बताए।

उनले भने, ‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताको अघि भन्न सक्छु, २०८१ सालको वैशाख ८ गते हो आज। अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईंहरुको बीचमा फेरि जवाफ दिन आउनेछु। मैले केवल यो सन्दर्भमा रहेर मात्रै भनेको। चुनावको अगाडि गठबन्धन जनतालाई धोका हो। चुनावको अघिको गठबन्धन बेइमानी हो। चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो।

चुनावअघिको गठबन्धन मतदाताको अवमूल्यन हो। त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाईहाई होइन बाईबाई गर्नेबेला आएको छ। चुनावअघिको गबठन्धनले हाम्रो राजनीतिलाई विकृत बनाएको छ। आज इलामले सिंगो देशलाई गुन लगाउने बेला आएको छ। एउटा अवसर आएको छ। यो ठाउँबाट नेपालमा गठबन्धनको राजनीति चल्दैन, बिक्दैन भनेर नेता र पार्टीलाई सन्देश दिने बेला आएको छ।’