FLASH NEWS

धादिङमा आगलागीमा परेर एक दम्पत्तिको मृत्यु


नेपाल आवाज २० बैशाख २०८१, बिहीबार ११:०३ मा प्रकाशित ६८५ पाठक संख्या

खानीखोला – धादिङको थाक्रे गाउँपालिका-५, पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँमा आगलागीमा परी एक दम्पतीको मृत्यु भएको छ ।


बुधबार राती आफ्नै घरमा आगलागी हुँदा अन्दाजी ७० वर्षीय तेज बहादुर लामा र उनकी श्रीमती ठुली लामाको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए ।

‘राती करिव ११ः३० बजे घरमा आगो लागेको खबर पायौं । नजिकको हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा आगो दन्किएको र रातीको समयमा भाग्न नभ्याएर अथवा आगो निभाउन कोशिष गर्दा वृद्ध दम्पतीको जलेर मृत्यु भएको अनुमान छ। दमकल जाने स्थिति पनि थिएन, राति साढे १२ बजे आगो निभ्यो,भित्र हेर्दा दुई जनाको मृत्यु भएको देखियो,हामी थप अनुसन्धान गर्दैछौं’, प्रहरी उपरीक्षक केसीले भने– घरमा भएका अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ ।’

थाक्रे गाउँपालिका– ५ का वडा अध्यक्ष सन्त बहादुर लामाका अनुसार रातीको समयमा एक्कासी घरमा आगो लाग्दा भाग्न नभ्याएर दम्पतीको जलेर मृत्यु भएको अनुमान छ । वारीपारीका मान्छेहरुले बिजुलीको तारमा झिल्का निस्किएको देखेको बताएका छन्’, अध्यक्ष लामाले भने– ’अहिलेसम्म सबैले करेन्ट सर्ट भएर एक्कासी आगो दन्किएको अनुमान गरिएको छ ।’ आगो कसरी लाग्यो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गर्ला।’

यता, यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र मिश्रले बत़ाए।