FLASH NEWS

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ


नेपाल आवाज १६ बैशाख २०८१, आईतवार १५:०३ मा प्रकाशित ३६७ पाठक संख्या

पर्सा । पर्साको कालिकामाई गाउँपालिका-१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद कुर्मीलाई उनकै घरबाट चरेस जस्तो देखिने पदार्थ १७ किलोसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

रौतहट, कटहरिया नगरपालिका-२ छेदिचोकबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा निजगढ नगरपालिका-९ बजार टोल बस्ने अटो चालक ४२ वर्षीय अनन्त बराइली र उनकै श्रीमती ३५ वर्षीय मन्जु बराइली रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट छेदिचोकबाट खटिएको प्रहरीले प्र.२-०३-००१ ह ३१५ नम्बरको अटो जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

झापा, झापा गाउँपालिका-५ पन्थपाडास्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम र नगद ११ हजार रूपैयाँसहित झापा बाह्रदर्शी गाउँपालिका-४ चकचकी बस्ने ३२ वर्षीय जफिर आलमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ५६४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक जफिरलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

धनुषा, औरही गाउँपालिका-५ स्थित औरही चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम र नगद ३८ हजार २ सय २० रूपैयाँसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा सिरहा नगरपालिका-१५ बस्ने ३६ वर्षीय श्याम सुन्दर यादव र भारत घर भएका ३२ वर्षीय सुधिर कुमार ठाकुर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीले विआर ३२ एएफ ९३४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो ।

यसैगरी धनुषा, जनकपुर उपमहानगरपालिका-४ मुरली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २२ वर्षीय अर्जुन बैठा र २१ वर्षीय ईन्द्रजीत भण्डारी रहेका छन् । प्रहरी चौकी हनुमाननगर र लागूऔषध नियन्त्रण व्यूरो जनकपुरबाट खटिएको प्रहरीले ज.१० प १२८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-६ बैशाखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ १ ग्राम ६५ मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोक बस्ने १९ वर्षीया दिक्षा लामिछाने र सोही उपमहानगरपालिका-२ मिलनचोक बस्ने १८ वर्षीया किशोरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।