FLASH NEWS

आमा-हजुरआमाको पुस्तक लेख्ने १० लेखक सम्मानित


नेपाल आवाज २७ बैशाख २०८१, बिहीबार १५:२६ मा प्रकाशित २५३ पाठक संख्या

लेखन कुञ्ज, घोस्ट राइटिङ नेपालले मातातीर्थ औँशीको अवसरमा कुञ्ज थिएटरमा ‘मातातीर्थ औँशी विशेष कार्यक्रम–२०८१’ आयोजना गर्दै आमाहरुको सम्मान गरेको छ । आफ्नै प्रकाशन गृहबाट प्रकाशित भएका आमा–हजुरआमाको पुस्तक लेख्ने लेखकहरूलाई सो कार्यक्रममार्फत लेखन कुञ्जले सम्मान गरेको हो ।


सम्मान कार्यक्रम हुनु अघि सम्मानित लेखक रामप्रसाद कोइरालाद्वारा लिखित तथा लेखन कुञ्जद्वारा प्रकाशित ‘मेरी उनी र म’ पुस्तकमा आधारित नाटक पनि मञ्चन गरिएको थियो ।

घोस्ट राईटिङ्ग नेपालका अधक्ष कमल ढकालका अनुसार मातातिर्थ औंसीको महत्व युवा पुस्ताले भुल्दै गएको कारणले मातातिर्थ औंसीको महत्व झल्काउनका लागि र आधुनिक पुस्तालाई पनि जानकारी गराउनको लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो।

सम्मान कार्यक्रममा डम्बरकुमारी तिम्सिना, प्रा. राधादेवी शर्मा चालिसे, निर्मला बराल, जमुना खत्री, सुष्मा खत्री रन्जित, गंगा खड्का, लीलामाया ढकाल, शान्ता पोखरेल अर्याल, हीरादेवी तण्डुकार र रामप्रसाद कोइरालालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा लेखन कुञ्जका अध्यक्ष कमल ढकालले भने , ‘आज औंसीकै दिनमा किन आमाहरुको मुख हेर्ने दिन राखेको होला भनेर सोच्दै थिएँ। पक्कैपनि आमाहरुको उज्यालोले औंसीको रातको अँध्यारोलाई नाश गर्ने हुनाले नै यहि दिन राखिएको होला । यसैगरी आमाको पुस्तक हरेकले लेख्दै जाने हो भने संसारले आमाको महत्वलाई बुझ्ने थियो। ’

कार्यक्रम सबैलाई मातातीर्थ औँशीको शुभकामनासमेत व्यक्त गर्दै एक आपसमा शुभकामना आदानप्रदान गर्दै सम्पन्न भएको थियो ।