FLASH NEWS

सिधा कुरालाई ‘बयान गराउने’ सर्वोच्चको आदेश


नेपाल आवाज १७ बैशाख २०८१, सोमबार १९:२२ मा प्रकाशित ४६३ पाठक संख्या

काठमाडौँ – सर्वोच्च अदालतले सिधा कुरा डटकमलाई बयान गराउने आदेश गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेक प्रसाद ढुंगानाले सो अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगानालाई बयान गराउने आदेश गरेका हुन् । बयानका लागि उनीहरूलाई वैशाख २० मा अदालतमा आउन भनिएको छ ।


अख्तियारले गर्ने स्टिङ अपरेशन खारेज गराउन बयान फेर्ने र पैसा लेनदेन गर्नेबारे डिल भएको भनिएको ‘अडियो’ सो अनलाइनले प्रसारण गरेको थियो । मुद्दा खारेज गराउन आयोजित डिलमा सर्वोच्चका न्यायाधीश आनन्दमोह भट्टराई पनि सहभागी भएको सो अनलाइनले दाबी गरेको थियो । सो समाचार प्रशारणपछि सर्वोच्च अदालतका उपरजिस्टार गोविन्द प्रसाद घिमिरेले मुद्दा दर्ता गर्नका लागि प्रतिवेदन दिएका थिए ।

प्रकाशित सामग्री २४ घण्टाभित्र हटाउन पनि अदालतले आदेश गरेको छ । त्यस्तै पेश भएको श्रव्य दृश्यमा उठाइएको विषयवस्तुको सत्यतथ्य तथा प्राविधिक पक्षको समेत विस्तृत अनुसन्धान हुनुपर्ने देखिएको भन्दै सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुनको उल्लङ्घन गरेको देखिएमा कानुन बमोजिम कारवाईसमेत अगाडि बढाउनु र सो को प्रतिवेदन सहितको जानकारी १५ दिन भित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत यस अदालतमा पेश गर्नु भनी प्रहरी महानिरीक्षकलाई लेखी पठाउने पनि आदेशमा उल्लेख छ ।