FLASH NEWS

हिन्दु सम्राटको ” केक मोह ” ! राजावादीहरुको बिजोग हुँदा पूर्वराजा भने रमाउन मस्त


नेपाल आवाज २० बैशाख २०८१, बिहीबार १६:३४ मा प्रकाशित ५०११ पाठक संख्या

काठमाण्डौ। पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको एनिभर्सरी (वर्षगाँठ) कार्यक्रमको तस्बिरहरु सार्वजनिक भएका छन्। सार्वजनिक भएको तस्बिरहरुमा पूर्वराजपरिवार रमाईरहेको देख्न सकिन्छ। खुशियालीमा रमाउनु स्वभाविक हो तर रमाउने तरिका हेर्दा पूर्वराजालाई अब हिन्दु सम्राट बन्ने मोह मरिसकेको देखिन्छ।


स्वभाविक रुपमा हिन्दु सम्राट बन्ने व्यक्तिले हिन्दुहरुको संस्कारलाई बोक्नुपर्ने हुन्छ तर पूर्वराजा भने पश्चिमी संस्कार बोक्दै केक काट्दै गरेको र रेड-वाईन समावेश भएको पार्टीको तस्बिर सामाजिक संजालमा प्रचार गरिरहेको देख्न सकिन्छ। उक्त तस्बिरमा देखिएको रेड वाईन फ्रान्समा बनेको हो जसको मूल्य एकै बोतलको रु १४००० पर्नेगर्छ।

पूर्वराजाको केक मोहले नेपालमा मात्र नभई बिश्वभरि रहेका करोडौं हिन्दुहरुमा राजाको पश्चिमी मोहको संदेश जाँदा हिन्दुहरु झस्किएका छन्। हिन्दु सम्राट बन्छु भन्ने पूर्वराजाले आफ्नो जन्मदिनमा र एनिभर्सरीमा केक नछाड्नुले उनमा रहेको पश्चिमी संस्कृति मोह छताछुल्ल भएको छ। तर सोही तस्बिरमा भने पूर्वराजाको निधारमा हिन्दुहरुले लगाउने टिका समेत देख्न पाईन्न।

सडकमा देखिएका थरि-थरि राजावादिहरु मध्येका एक हेमबिक्रम सिलवालले आत्महत्या गरे। अर्का एकजना प्रकाश राजावादी भन्नेले पनि आत्महत्या नै गरे। केहि दिन अघिमात्र राप्रपाले गरेको प्रदर्शनको क्रममा राप्रपाका एकजना कार्यकर्ता ठाकुर प्रसाद डाँगीको निधन भयो तर पूर्वराजाबाट यी कुनैपनि घटनामा चासो देखिएन, कुनै भनाई पनि आएअनन।

आफूहरुले पूर्वराजपरिवारबाट कुनै सहयोग वा सान्त्वना पनि नपाएको गुनाशो निधन भएकाहरुको आफन्त तथा परिवारबाट आईरहेको हुन्छ। पूर्वराजाबाट राजाकै अभियान गर्ने दल तथा अभियानहरुलाई पनि एक रुपैयाँ सहयोग हुँदैन भन्ने सुनिन्छ। पूर्वराजाकै नाम भजाएर युट्युब चलाईरहेका कन्टेन्ट क्रियेटरहरुको पनि च्यानल चलाउन नसकेर युट्युब च्यानल बिक्रीमा छ भन्ने सुनिन्छ। सडकमा राजा ल्याउछौं भनेर लड्नेहरुलाई पूर्वराजाबाट कुनै सहयोग नहुने मात्र हैन कुनैपनि यस्ता औपचारिक कार्यक्रममा निमन्त्रणा समेत हुँदैन। पूर्वराजाले आफ्नालागि लड्नेहरुलाई र जनतालाई च्याप्न छाडेर आफ्नै परिवार र आफन्तमा रमाउन व्यस्त हुनुले पूर्वराजाले अब आफू सम्राट बन्ने सपना त्यागेर आफ्नो ब्यापार, व्यवशाय मात्र सुरक्षित गराउने उपाय खोजिरहेको प्रस्ट हुन्छ।

एउटा सेतो कपडा ( खास्टो ) समेत पूर्वराजाबाट आफ्नैलागि सडकमा लड्नेहरुको निधनमा प्राप्ति हुँदैन र कुनै सान्त्वना वा सहयोग पनि हुँदैन भने यो लडाई व्यर्थ रहेछ भनेर अहिले राजावादीहरु निराश भएको देख्न सकिन्छ। यता राजावादीहरुको यस्तै खाले बिजोग भईरहदा पूर्वराजा भने यसरि केक , रेड वाईन र हाई क्लास पार्टीमा रमाईरहेका देख्न सकिन्छ।