FLASH NEWS

कुवेत पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा पक्राउ


नेपाल आवाज २४ बैशाख २०८१, सोमबार १४:२३ मा प्रकाशित २९५ पाठक संख्या

काठमाडौं । वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-३  बस्ने ४७ वर्षीय श्याम बाबु बराकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका-३  बाट पक्राउ गरेको हो ।

श्याम बाबु समेतले पीडितलाई नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा कुवेत पठाईदिने भनि झुक्याई २०७९ माघ २५ गते भिजिट भिसामा कुवेत पुर्‍याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको एअरपोर्टमा देखाउने कागजातहरू समेत फरक-फरक बनाई पठाएको, कुवेतको एअरपोर्टमा पुगे पश्चात जाहेरवालाको सक्कल नेपाली राहदानी लगायतका कागजातहरू नियन्त्रणमा लिई श्रीलंकन मुलको एजेन्टलाई जिम्मा लगाएको र कुवेती नागरिकको घरमा पुर्‍याई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

साथै पीडितले कुवेतमा काम नगर्ने नेपाल फिर्ता गरिदिन भनि आग्रह गर्दा ५ लाख रकम माग गरेको  र नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी श्याम बाबु समेतले उपलब्ध गराएको खातामा ३ लाख रकम जम्मा गरे पश्चात पीडित कुवेतबाट २०७९ फागुन २१ गते नेपाल फर्कन सफल भएका थि ए ।

उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।