FLASH NEWS

बलिवुड फिल्म रामायणको तयारी तिब्र, दुई भागमा बन्ने


नेपाल आवाज ८ जेष्ठ २०८१, मंगलवार १२:१९ मा प्रकाशित ४९३ पाठक संख्या

काठमाडौँ । बलिवुडमा नितेश तिवारीको निर्देशनमा बन्न लागेको बहुप्रतिक्षित चलचित्र रामायणको तयारी तिब्र रुपमा भइरहेको छ ।


चलचित्र रामायणलाई दुई छुट्टाछुट्टै भागमा बनाइने बताइएको छ भने दुवै भागको छायांकन एक वर्षमा एकैपटक सम्पन्न हुने बताइएको छ ।

फिल्म रामायणको निर्माण टिमका अनुसार नितिश तिवारीले रणवीर कपूर, यश, साई पल्लवी र सनी देओलसँग रामायणका दुई भागको सुटिङ सुरु गरिसकेका छन् । चलचित्रलाई ठूलो परिमाणमा देखाउन र राम्रोसँग प्रस्तुत गर्न निर्माताले यसलाई २ भागमा बनाउने निर्णय गरेका छन् ।

चलचित्र उद्योगमा अधिकांश चलचित्रकर्मी पहिलो भागको नतिजा देखेपछि दोस्रो भागको तयारीमा लागे पनि रामायणको दुवै भाग एकैसाथ छायांकन हुनेछ । यसअघि यो फिल्म ३ पार्टमा बन्ने भएको थियो ।

टोलीले रामायणका दुवै भागको छायांकनका लागि ३५० दिनको छायांकन तालिका बनाएको छ जसमा विस्तारित स्टार कास्टको एकल दृश्य पनि समावेश हुनेछ । दुवै भाग एक वर्षको अन्तरालमा रिलिज हुनेछन् ।

फिल्म रामायणको प्रिन्सिपल छायांकन आउँदो डिसेम्बरसम्ममा सक्ने गरी फिल्मको पोस्ट प्रोडक्सनको काम सुरु हुने बताइएको छ । चलचित्र रामायणमा कलाकारहरुको लुक्सको निरन्तरता कायम राख्न दुवै पार्टको एकैसाथ छायांकन गर्ने निर्णय गरिएको छ ।

नितिश तिवारीको निर्देशनमा बन्न लागेको रामायणमा रणवीर कपूर भगवान श्रीरामको भूमिकामा देखिने भएका छन् । यो भूमिकाका लागि रणवीरले कडा तालिम लिइरहेका छन् । उनीसँगै साउथकी चर्चित अभिनेत्री साई पल्लवी माता सीताको भूमिकामा देखिनेछिन् ।

फिल्ममा सनी देओल हनुमानको भूमिकामा देखिनेछन् भने अभिनेत्री लारा दत्त कैकेयीको भूमिकामा देखिनेछन् । त्यस्तै रावणको भूमिका अभिनेता यशले निभाउने बताइएको छ ।