FLASH NEWS

विवाहको वहानामा चीन पुर्‍याइ मानव बेचबिखन गरेको अभियोगमा महिला पक्राउ


नेपाल आवाज ८ जेष्ठ २०८१, मंगलवार १५:०५ मा प्रकाशित ६०७ पाठक संख्या

काठमाडौं ।  विवाहको वहानामा चीन पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा नुवाकोट किस्पाङ्ग गाउँपालिका-१ ठेगाना भई  चीनको हेइलोंगजियांग प्रोभिन्सको हर्बिन सिटीमा बसोबास गर्ने ४३ वर्षीया मनमाया घलेलाई प्रहरीले पक्राउ गरेको छ ।


पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२७ ठमेलबाट पक्राउ गरेको हो ।

मनमायाले पीडितलाई चिनियाँ नागरिकसँग विवाह गरेमा ५ वर्षपछि ग्रिनकार्ड बनाउन सकिने भन्दै ललाई फकाई प्रलोभनमा पारेर चिनियाँ नागरिकसँगको मिलेमतोमा जिल्ला अदालत काठमाडौंमा लगि २०७९ चैत १३ गते चिनियाँ नागरिकसँग कोर्ट म्यारिज गराई २०८० वैशाख १ गते चीनमा पुर्‍याएर यौन शोषण एवम् वेश्यावृत्तिमा लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

मनमायाले पीडितलाई नेपाली ५ लाख रूपैयाँमा बेचबिखन गरेको समेत खुल्न आएको छ । पीडितलाई वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा चीनस्थित नेपाली दुतावाससगँको समन्वयमा २०८० असार १ गते नेपाल फर्कन सफल भएका थिए ।

उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।