FLASH NEWS

मकवानपुरमा दुई ट्रक ठोक्किएर आगलागी हुँदा ३ जनाको मृत्यु


नेपाल आवाज २३ असार २०८०, शनिबार ०९:४८ मा प्रकाशित १५५५ पाठक संख्या

काठमाडौं – मकवानपुरको मनहरी गाउँपालिका-६ नयाँबस्ती डिपाट गाउँस्थित दुई ट्रक ठोक्किएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ।


पूर्व-पश्चिम सडकखण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए।

दुर्घटनामा मृत्यु हुनेमा ना ६ ख ६६६७ नंको ट्रक चालक जिल्ला चितवन राप्ति नपा ८ बस्ने वर्ष २८ को रिहान रुम्बा तामाङ, सहचालक जिल्ला गोरखा गण्डकी गापा २ गोर्दीटार बस्ने वर्ष २१ को सुमन चेपाङ र ना ६ ख ६३१ नंको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष २० को अमृत प्रजा रहेको कार्कीले जानकारी दिए।

आगलागी भएको सवारी निभाउन हेटौँडाबाट दुई वटा दमकल आई आगो निभाए पनि सवारी पूर्ण क्षति भएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा ना६ख ६६६७ नको ट्रकमा सवार जिल्ला चितवन राप्ति नपा ३ बस्ने वर्ष ३५ को विवेक तमाङ र ना६ख ६३१ नंको ट्रक चालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष ३२ को अर्जुनकुमार प्रजा रहेको बताइएको छ। उनीहरुको भरतपुरमा उपचार भइरहेको छ ।

ट्रक दुर्घटना भएपछि पूर्वपश्चिम राजमार्ग बिहानसम्म अवरूद्ध भएको थियो। प्रहरीका अनुसार बिहान ५ बजेमात्रै आगो नियन्त्रणमा आएपछि एकतर्फी सडक खुलाइएको थियो। सडक बिहान ७ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ।