आज: | Tue, 06, Jun, 2023
FLASH NEWS

शक्तिखोर औद्योगिक क्षेत्र सञ्चालनका लागि प्रतिवद्ध छु : गृहमन्त्री


नेपाल आवाज २८ पुष २०७९, बिहीबार १८:३१ मा प्रकाशित १२२५ पाठक संख्या

चितवनका उद्योगीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग उद्योगीले भोगेका समस्याको बारेमा छलफल गरेका छन् । चितवन उद्योग संघको आयोजनामा उद्योग क्षेत्रमा देखिएका वर्तमान समस्या र औद्योगिक विकासका लागि सरकार सँगको अपेक्षा विषयमा आज छलफल भएको हो ।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा भएको छलफलमा संघका उपाध्यक्ष युग राज वस्तीले संघले अघि सारेका महत्वपूर्ण परियोजना चितवन प्रदर्शनी केन्द्र, प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्र, औद्योगिक पाठशाला, औद्योगिक शिक्षालय, बिक्री केन्द्र, वर्तमान समयमा उद्योगीहरुका समस्या र समाधानकालागि सुझावहरु सहितका विषयमा लामिछानेलाई जानकारी गराएका थिए ।

जानकारीपछि गृहमन्त्री लामिछानेले संघले अघि सारेका परियोजना निकै महत्वपूर्ण रहेको बताए । आफूलाई चितवनका जनताले दिएको मतको कदर गर्दै आफूले उद्योगीहरुको समस्यालाई समाधान गर्ने मुख्य लक्ष्य लिएको समेत उनले बताए ।

कालिका नगरपालिकामा डीपीआर र ईआईए समेत भई अगाडि बढिरहेको प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्रका बारेमा आफूहरुले अगाडि देखिनै चासोका साथ हेर्दै आइरहेको उनले बताए । उनले शक्तिखोर औद्योगिक क्षेत्र विशेष प्राथमिकतामा राखेकोले आफ्नो कार्यकालमा यसको सञ्चालनको लागि आफू पूर्ण रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।