FLASH NEWS

नेपाली नागरिकता लिन खोज्ने भारतीयसहित एक रुकुमेली पक्राउ


नेपाल आवाज ३० पुष २०७९, शनिबार ११:१२ मा प्रकाशित १८७९ पाठक संख्या

नेपाली नागरिकता बनाउन खोज्ने एक जना भारतीय नागरिकसहित एक जना रुकुमेली पक्राउ परेका छन् । भारतको हिमाञ्चल प्रदेशको सिम्ला घर भएका अन्दाजी ३० वर्षीय गणेश नेपाली भनेर चिनिने व्यक्ति र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० का २६ वर्षीय मोतिराम मल्ल पक्राउ परेका हुन् ।


उनीले स्थानीय रत्ने दमाइलाई रक्सी खुवाई झुक्याएर नागरिकता बनाउन खोजेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए । दमाइलाई रक्सी खुवाएर पूर्णबहादुर नेपालीको छोरा हो भन्न लगाई बाँफिकोट गाउँपालिका वडा नम्बर १० को कार्यालयमा जन्मदर्ता गरी नागरिकताको प्रमाणपत्रका लागि सिफारिस बनाउन लगाएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको श्रेष्ठले बताए ।

पौष २५ गते वडामा जन्मदर्ता गरी नागरिकता सिफारिसका लागि उनीहरू पुस २६ गते जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार शंकास्पद लागेपछि सोधपुछ गर्दा गणेश नेपाली भनिने व्यक्ति भारतीय नागरिक रहेको र उनलाई नेपाली नागरिकताका लागि मोतिराम मल्लले सहयोग गरेको खुलेको थियो । त्यस्तै बाबु भनेर उल्लेख गरिएका पूर्णबहादुर नेपालीको मृत्यु भइसकेको पाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

उनीहरूविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नागरिकताका सम्बन्धमा कडाई गरिरहेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए । विभिन्न समस्याहरू देखिन थालेपछि जनप्रतिनिधिसँगसमेत छलफल बढाइएको र राम्ररी बुझेर सिफारिस गर्न आग्रह गरिरहेको उनको भनाइ छ ।

जन्मदर्तामा किर्ते हस्ताक्षर गर्ने दुई जना धरौटीमा रिहा : यसैबीच जन्मदर्तामा किर्ते हस्ताक्षर गर्ने दुई जना धरौटीमा रिहा भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ५ रगालगाउँका १९ वर्षीय चन्द्रबहादुर मल्ल २ लाख र सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी गोबिन्द विक १ लाख ५० हजार धरौटीमा रिहा भएका हुन् । यही घटनामा संलग्न आठबीसकोट ४ का मरिचमान बिष्ट भने फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मल्लले आफ्नो जन्मदर्तामा स्थानीय पञ्जिकाधिकारीको हस्ताक्षर नभएपछि बिष्टलाई किर्ते हस्ताक्षर गर्न लगाएका थिए । तत्कालिन पञ्जिकाधिकारीको हस्ताक्षरको फोटो खिचेर कार्यालय सहयोगी विकले मल्ललाई पठाइदिएका थिए । शंकास्पद लागेपछि सोधपुछ गर्दा किर्ते हस्ताक्षर गरेको पाइएपछि उनीहरूलाई प्रहरीले गत मंसिर २८ गते पक्राउ गरेको थियो । प्रहरी अनुसन्धान पछि पौष २३ गते मुद्दा जिल्ला अदालतमा बुझाइएको थियो । अदालतले पौष २५ गते उनीहरूलाई धरौटीमा रिहा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।