FLASH NEWS

हिमपातले नाग्म-गमगढी सडक अवरुद्ध


नेपाल आवाज १२ माघ २०७९, बिहीबार २०:३६ मा प्रकाशित १४०५ पाठक संख्या

हिमाली जिल्ला मुगुमा पहिलो पटक परेको भारी हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म-गमगढी सडक अवरुद्ध हुँदा स्थानीयवासीसँगै यातायात व्यवसायीलाई सास्ति भएको छ ।


यही माघ १० गते भएको भारी हिमपातले नाग्म-गमगढी सडक अवरुद्ध भएको हो । कर्णाली राजमार्गअन्तर्गत रहेको सो सडक अवरुद्ध भएको आज दुई दिन भएको छ ।

सो सडकको जुम्लादेखि मुगुको घुच्ची पिनासम्म सडकमा झन्डै दुई फिट भन्दा बढी हिउँ जमेपछि सडक अवरुद्ध भएको हो । मुगु र जुम्ला जोड्ने सीमा क्षेत्र बुलेबुले र घुच्ची लेकमा  बाक्लो हिउँ जमेको छ ।

घाम लागेको खण्डमा दुई दिनभित्र सडक सञ्चालन हुन सक्छ । तत्काल भने सडक खुल्ने सम्भावना देखिएको छैन ।सडक अवरुद्ध भएपछि जुम्ला र मुगुको आवतजावतमा समस्या भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनका अनुसार पहिले जस्तो हिउँ जमेको छैन । दुई चार दिनमै घाम लाग्यो भने सडक सुचारुमा आउने उनको भनाइ छ ।

जुम्ला हुँदै मुगु राराताल आउने  छोटो पर्यटकीय मार्ग जुम्ला उर्थु  पटमारा कार्वा  बुलबुले जोड्ने सडक पनि अवरुद्ध भएको छ ।  उक्त सडक अवरुद्ध भएपछि छोटो मार्ग भएर मुगु जाने आन्तरिक पर्यटक र स्थानीय प्रभावित भएका छन् । माघ १० गते परेको हिमपातले मुगु लगायत कर्णालीका माथिल्ला जिल्लाका उच्च स्थानमा हिमपात भएको थियो ।