FLASH NEWS

केपी शर्मा ओली पनि राजतन्त्रकै पक्षमा !


नेपाल आवाज २३ चैत्र २०७९, बिहीबार १६:०८ मा प्रकाशित ३३१३ पाठक संख्या

काठमाडौं – नेपालमा संवैधानिक राजतन्त्र फर्काउने अभियानमा लागेका व्यावसायी दुर्गा प्रसाईँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि राजतन्त्रको पक्षमा रहेको खुलासा गरेका छन् ।


बुधबार झापाको दमकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईँले ओली संवैधानिक राजतन्त्र ल्याउने पक्षमा रहेको दाबी गरे । ओलीले आफू हिन्दु राष्ट्र र संघीयता खारेज गर्ने पक्षमा रहेको बताउने गरेको उनको जिकिर थियो । आोलीसँगको सल्लाहमै झापाको मेची पुलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ल्याएर कार्यक्रम गरिएको पनि प्रसाईँको दाबी  छ ।

उनले भने, ‘केपी ओलीज्यूकै सल्लाहमा मैले राजा ज्ञानेन्द्रलाई मेची पुलमा ल्याएको हो । आज मैले दमकमा आएर सत्य कुरा बोल्नुपर्छ । र, मेरै फोनबाट पारस सरकारसँग कुरा भएको हो केपी ओली ज्यूको । त्यो पनि मैले सत्य बोल्नैपर्छ । म पनि आउँछु त्यहाँ भन्नुभएको थियो । र संवैधानिक राजतन्त्र ल्याउनुपर्छ नाति, हिन्दु राज्य कायम गराउनुपर्छ । तर, हिन्दु चाहिँ भन्नु हुँदैन अहिले, बोलिहाल्नु हुँदैन । बौद्धिक सनातन धर्म भन्नुपर्छ । संघीयता त काम लाग्दैन, खारेज गर्नुपर्छ भन्नुहुन्थ्यो हजुरबुबा (ओली)ले ।

प्रसाईँले अगाडि भने, ‘म पनि होला भन्ने लागेर राजालाई बोलाइहाले । राजा पनि आउने हुनुभयो । सबै गरेपछि अहिले राजा नल्याऊ न नाति भन्नुभयो । मेरो पनि इज्जतको कुरा हो नि । म पनि कुमाई परिवारकै मान्छे हो । आठराईको पानी खाको । अनि फर्किने कुरा भएन । अहिले दमकमा आएर यो दुःखको कुरा भन्नुपरेको छ । मेरा हजुरबुबालाई भन्नुपर्छ ।’

प्रसाईंले मेची पुलमा पूर्व राजा आएकै दिन एमाले अध्यक्ष ओली पनि झापा आएको स्मरण गरे । उनले भने, ‘राजा मेची जाँदा हजुरबा पनि दमक त आउनु भएकै हो नि ? तर कसोकसो गर्दा उहाँ आउनु भएन । त्यसपछि हिक्मत कार्की, थापा दाजुभाइले दुर्गा प्रसाईँलाई कारबाही गर्नुपर्छ भनेर दबाब दिएछन् । त्यो थाहा पाउने बित्तिकै मैले हजुरबुबालाई तपाईंको झोला चाहिँदैन भनेर केन्द्रीय सदस्य छोडेको हुँ ।’