FLASH NEWS

फास्ट ट्र्याकबाट संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा टुंगो लाग्दैनः ओली


नेपाल आवाज २५ चैत्र २०७९, शनिबार २०:०६ मा प्रकाशित २०११ पाठक संख्या

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिमा नगइकन नटुंगिने स्पष्ट पारेका छन्।


शनिबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले संसदलाई गतिशिल बनाउने कुरामा छलफल भएको बताए। उनले अहिलेको बैठक प्रारम्भिक रहेको र बैठक सकारात्मक रहेको बताए।

उनले भने, ‘सदनका काम कारबाहीहरुको सन्दर्भमा सदनलाई कसरी प्रभावकारी र गतिशिल ढंगले बढाउने र अहिले आएका समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भयो, यो प्रारम्भिक हो, सकारात्मक छ। समितिमा कुनै न कुनै हिसाबले जानैपर्छ। दुई तीन दिनभित्र अर्को बैठक बस्छ।’ बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक (टिआरसी)लाई समितिमा पठाउनेबारे पनि छलफल भएको उनले बताए।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिआरसी विधेयकलाई फास्ट ट्र्याकमा लैजान चाहेको बताए। तर प्रतिपक्षी दल एमालेले भने समितिमा लैजानुपर्ने अडान लिएको र बीचको बाटोबाट खोज्ने उनले बताए। ‘फास्ट ट्र्याकबाट फुल हाउसबाटै गरौं भन्ने छ। प्रतिपक्षीको कुरा चाहिँ समितिमा लगेर गरौं भन्ने छ। त्यसमा बीचको बाटो खोज्ने भन्ने पनि छ,’ उनले भने।

यो विधेयकसँगै संवैधानिक परिषदसँग सम्बन्धी विधेयक र सम्पत्ति शुद्धिकरणसँग सम्बन्धी विधेयकलाई पनि छिटो टुंग्याउने विषयमा छलफल भएको उनले बताए। ‘संवाद गरेर सदनभित्र खासगरी टिआरसीसँग सम्बन्धी विधेयक र संवैधानिक परिषदसँग सम्बन्धी विधेयक, सम्पत्ति शुद्धिकरणसँग सम्बन्धी विधेयकलाई छिटो टुंग्याउन जरूरी छ। यो राष्ट्रको निम्ति भन्ने कुरामा गम्भीर छलफल भयो,’ उनले भने। यस विषयमा छलफल गर्न विज्ञहरूको पनि सहयोग लिने र फेरि चैत २८ गते बिहान साढे ९ बजे बस्नेगरी स्थगित भएको उनले बताए।