FLASH NEWS

सिरहामा आगलागीबाट चार घर जलेर नष्ट


नेपाल आवाज ४ बैशाख २०८०, सोमबार १५:५३ मा प्रकाशित १९०३ पाठक संख्या

सिरहा, ४ वैशाख।  सिरहामा भएको आगलागिबाट लाखौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।   सिरहा नगरपालिका १८ इटारीमा आइतबार राति दुखी ठाकुरको गाई गोठमा लगाएको घुरबाट सल्केको आगोले उनीसहित पाँच जनाको घरमा रहेको अन्नबाली, कपडा, नगद र सुनचाँदी सहितका सामाग्री जलेर नष्ट भएको हो।


ठाकुरको घरबाट सुरुभएको आगो कप्लेश्वर, रमेश्वर, बुधेश्वर र मुनेश्वर ठाकुरको घर र घरमा रहेको सम्पूर्ण सामाग्रि जल्दा ५० लाखभन्दा बढीको क्षति भएको शिक्षक समेत रहेका बुधेश्वर ठाकुरले बताए। उनले भने, ‘मेरोमात्रै वर्षभरी खाने अन्न, सबै लत्ताकपडा, ४ तोला सुन र काम विशेषले घरमै राखेको ५० हजार नगद जल्यो, सबैको मिलाउँदा ५० लाखभन्दा बढीको क्षति भएको छ।’

उनीहरुले रातको समयमा भएकाले घरमा रहेको केही सामान निकाल्न नसकेको बताए। बुधेश्वरले भने, ‘हामीसँग बाँकी भनेको लगाएको लुगामात्र हो, पानी पिउन एउटा भाँडासमेत छैन, कहाँ बस्ने के खाने अन्यौल भइरहेको छ।’

राति करिब ११ बजेबाट सुरु भएको आगलागी सिरहा र गोलबजार नगरपालिकाको दमकल, स्थानीय वासिन्दा र प्रहरीले करिब २ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिए।

आगलागी पीडितहरुले आफूहरुलाई तत्काल दैनिक उपभोगका अतिआवश्यक सामाग्रीको खाँचो रहेको बताए। उनीहरुले त्यसको लागि स्थानीय सरकार र मनकारी हातहरुसँग सहयोगको अपेक्षा गरेका छन्।

त्यसैगरी,  सिरहा नगरपालिकाको प्रशासनिक भवनमा आगलागी भएको छ। आगलागीका कारण कार्यालयमा रहेको बिलभर्पाइसहितका महत्वपूर्ण कागजात जलेर नष्ट भएको छ। विद्युत् सर्टभएर आगलागी भएको भनिए पनि आगलागीको सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।