FLASH NEWS

परिवर्तनलाई उल्ट्याउन चाहने तत्वहरू सल्बलाउन थाले : प्रधानमन्त्री प्रचण्ड


नेपाल आवाज ११ बैशाख २०८०, सोमबार २१:११ मा प्रकाशित १५७३ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा स्थापित राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु अहिले सबैको दायित्व भएको बताएका छन् ।


नेपाल रिपब्लिक मिडिया १५औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हिजो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जसरी पत्रकारिता र राजनीतिक क्षेत्रबीच सहकार्य भयो, मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न आज पनि हामीबीच त्यस्तै सहकार्य आवश्यक छ । पछिल्ला दिनमा परिवर्तनलाई उल्ट्याउन चाहने तत्वहरू सल्बलाउन थालेकाले यसप्रति पनि हाम्रो सतर्कता जरुरी भएको छ ।’

प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र पारदर्शी र जनताप्रति जवाफदेही शासन प्रणाली भएको उल्लेख गर्दै अझ सशक्त, कामकाजी र जनताप्रति प्रतिबद्ध बनाउन सञ्चार क्षेत्रको सधैं रचनात्मक आलोचना आवश्यक रहेको बताए ।

उनले सञ्चारमाध्यम आम नागरिक र सरकारका समेत आँखा र कान भएको बताउँदै यसले गरिरहेको काममा कुनै कमजोरी भएमा यसले सच्याउन मद्दत गर्ने बताए । राज्यका विभिन्न निकाय एवम् राजनीतिक दललाई समेत सञ्चार क्षेत्रले घच्घच्याउँदै आएको उनको भनाइ छ ।