FLASH NEWS

बागेश्वरी मन्दिरको महाआरतीमा राजपरिवार सहभागि,भक्तजनको उल्लेख्य भीड


नेपाल आवाज १८ बैशाख २०८०, सोमबार २३:१० मा प्रकाशित २०५९ पाठक संख्या

नेपालगञ्ज – प्रसिद्ध शक्ति पिठ बागेश्वरी मन्दिरमा सुरु भएको सन्ध्याकालिन साप्ताहिक महाआरतीमा पूर्वराजा ज्ञानेन्द्र शाह  सहित राजपरिवारले सहभागिता जनाएकाछन् । महाआरतीमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह, छोरी प्रेरणा र बुहारी हिमानी शाह लगायत सहभागि भएका हुन् ।


पश्चिम नेपालको एक महिने भ्रमणका लागि गत शुक्रबार बेलुका बुद्ध एयरको जहाजबाट नेपालगञ्ज आएका पूर्वराजा ज्ञानेन्द्र सहित राजपरिवारले बागेश्वरी मन्दिरमा हुने साप्ताहिक महाआरतीमा सहभागि भएका हुन् । बागेश्वरी मन्दिरमा प्रत्येक हप्ताको सोमबार महाआरती हुने गर्दछ ।

पश्चिम नेपालकै प्रशिद्ध मन्दिर नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा हुने साप्ताहिक ‘महाआरती’मा राजपरिवारको सहभागिता हुने भएपछि अन्यदिनभन्दा सर्वसाधरण तथा भक्तजनको उल्लेख्य भीड लागेको थियो ।

महाआरतीको शुभसाईत सोमबार बेलुका ६ः३७ बजेको रहेपनि पूर्वराजा ज्ञानेन्द्र शाह पौने ६ बजे नै बागेश्वरी मन्दिर परिसर पुगेका थिए । नेपालगञ्ज भुजईगाउँस्थित सोल्टी होटलमा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र महाआरतीका लागि धम्बोझी चोकबाट सेतुविक चोक भएर न्यूरोड हुँदै बागेश्वरी मन्दिरको पूर्वी गेटबाट मन्दिर प्रवेश गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाका महामन्त्री एवम प्रतिनिधि सभाका सांसद डाक्टर धवल शम्सेर राणा, बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगी लगायतले स्वागत गरेका थिए ।

बागेश्वरी मन्दिर प्रवेश गरेका पूर्वराजा ज्ञानेन्द्रले महाआरतीमा सहभागि जनाउनु अघि बागेश्वरी मन्दिरमा विशेष पुजा गरेका थिए । बागेश्वरीको पुजा पश्चात राजा र राजपरिवार महाआरतीमा सहभागि भएका थिए ।

महाआरतीमा सहभागि भइरहँदा केहि क्षण वर्षा भएको थियो । झरीलाई समेत वेप्रवाह गरि पूर्वराजासहित उपस्थित श्रद्धालुले महाआरती भब्यताका साथ मनाए ।

नेपालगञ्जको बागेश्वरी मन्दिरमा केही महिनादेखि हरेक सोमबार महाआरती गरिदैँ आएको छ । महाआरतीमा तीन जना पण्डितले चारै दिशातर्फ फर्किएर आरतीका विधि पूरा गर्ने र सन्ध्या आरतीपछि भजन कीर्तन पनि गर्ने गरिएको छ । महाआरतीमा सहभागी हुँदा पितृमोक्षका साथै मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

एक महिने पश्चिम नेपालको भ्रमणमा नेपालगञ्ज आएका पूर्वराजा ज्ञानेन्द्रको यही वैशाख २० गते नेपालगञ्जको रामलिला मैदानमा नागरिक अभिनन्दन गरिदैँछ । पूर्वराजा ज्ञानेन्द्रको नागरिक अभिनन्दनलाई भव्य बनाउन नेपालगन्जमा तयारी तिव्र पारिएको राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए ।