FLASH NEWS

भ्रष्टाचारका सबै प्रकरणको अनुसन्धान गर्ने गृहमन्त्रीको प्रतिबद्धता


नेपाल आवाज २ जेष्ठ २०८०, मंगलवार १४:१५ मा प्रकाशित १५४९ पाठक संख्या

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका सबै प्रकरणहरूको अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् ।


सिंहदरबारमा मङ्गलवार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा श्रेष्ठले सरकारले सुशासनलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने भन्दै भ्रष्टाचारका सबै प्रकरणहरूको अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान जारी रहेको भन्दै उनले यस प्रकरणमा मात्रै नभई भ्रष्टाचारका सबै प्रकरणको अनुसन्धान हुने उनको जिकिर गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको समय निकै कम भएकाले प्रहरी प्रशासनले तीव्र रूपमा काम गरिरहेको उनको भनाइ छ ।

उनले प्रहरीलाई राजनीतिक दबाब वा अवान्छनीय प्रभावबाट मुक्त भएर अनुसन्धान गर्न निर्देशन दिएको बताए । निर्दोष नफस्ने र दोषी नछुट्ने गरी प्रहरीले निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाएको उनले बताए ।

श्रेष्ठले प्रमाणका आधारमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाले अनुसन्धानले पुष्टि गरेको आधारमा कारबाहीको दायरा बढाउने सरकारको प्रतिबद्धता रहेको बताए । उनले संसद् र सडकबाट भएको भ्रष्टाचार विरोधी कदमको समर्थन रहेको भन्दै सरकार कुनै दबाबको अगाडी नझुक्ने स्पष्ट पारे ।

उनले भ्रष्टाचार र कमिशनको जालोले देशलाई बरबाद पारेको भन्दै राज्यका सबै निकायहरूले यसलाई केन्द्रमा राखेर समाधान गर्नुपर्ने पनि बताए । बैठकमा कांग्रेस सांसद विश्वप्रकाश शर्माले दोषी नछुट्ने र निर्दोष नफस्ने विषयमा सबै सजक रहेको भन्दै सरकारले गरेको अनुसन्धानमा सबैको साथ रहेको बताए ।

त्यस्तै बैठकमा समिति सदस्यहरूले समितिको काम कारबाहीलाई प्रभावकारी बनाउनुपर्ने र दिएका निर्देशनका साथै सुझावहरूलाई सरकारले कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले समितिले दिएका सुझावहरूलाई सरकारले गम्भीर रूपमा लिएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।