FLASH NEWS

भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा राखेपछि…


नेपाल आवाज १६ जेष्ठ २०८०, मंगलवार १९:४६ मा प्रकाशित १९२७ पाठक संख्या

काठमाडौं – भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा लुम्बिनी,कपिलवस्तु  समेटिएपछी नेपालमा चौतर्फीविरोध र चासो व्यक्त हुन थालेको छ ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उद्घाटन गरेको संसद भवनमा अंकित भित्तेचित्रमा नेपालको लुम्बिनी,कपिलवस्तुलाई पनि भारतीय भूमिझैं दर्शाउने गरी अंकित गरिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा (मुरल) राख्नु उचित नभएको बताएका छन् ।

भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको भारतको नक्शामा नेपालको लुम्बिनी र कुपिलवस्तु पनि रहेको भन्ने कुरा सुनिएको उल्लेख गर्दै यदि त्यो सत्य हो भने उचित नहुने ओलीको प्रतिक्रिया छ । उनले भारतजस्तो एउटा पुरानो, सुदृढ र नमूना लोकतन्त्र भनिएको देशले त्यस्तो व्यवहार गर्न नमिल्ने बताएका छन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको क्रममा सो नक्सा संसद भवनबाट हटाउने कुरा भारत सरकारसँग गर्नुपर्ने बताए ।  भारतसँग सो गल्ती सच्याउने बारेमा कुरा नगर्ने हो भने प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानुको कुनै अर्थ नहुने ओलीले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘अखण्ड भारत’ को नयाँ नक्सामा नेपालको भूमि समेटेकोप्रति आपत्ति जनाएका छन् । उनले तत्काल सरकारको धारणा सार्वजनिक गर्न माग गरेका छन् ।

राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन संघर्षमा उत्रिने भएको छ । नेपालको राष्ट्रियतमाथि प्रहार गर्ने भारतको उक्त कार्य सच्याउन माग गर्दै संघर्षमा उत्रिन लागेको संगठनका संयोजक अधिवक्ता सुजित केसीले जानकारी दिए ।

‘राष्ट्रियतमाथि प्रहार हुँदा चुप लागेर बस्न सकिँदैन । हामी यसको सशक्त विरोध र भर्त्सना गर्छाैं र सच्याउन माग गर्छाैं,’ संगठन संयोजक केसीले भने ।

भारतको उक्त कदमले नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताविरुद्ध मात्रै नभएर नेपालको राष्ट्रियताथिकै प्रहार भएको उनको भनाइ छ ।  यसको जति भर्त्सना गरे पनि कम हुन्छ । सरकारको गम्भीर ध्यानाकर्षण होस । सबैले यसको डटेर विरोध गरौं,’ उनले भने ।

भारतको नक्साबाट नेपालको स्थान हटाउन माग गर्दै बुधबारबाट संघर्षमा उत्रिन लागेको जानकारी दिँदै उनले विरोध कार्यक्रममा सहभागी हुन सबै नेपालीहरुमा आह्वान पनि गरेका छन् । विरोधसभादेखि सरकारलाई ज्ञापनपत्रसम्म बुझाउने कार्यक्रम रहेको अध्यक्ष केसीले जानकारी दिए ।

यसैगरी,पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पनि चासो व्यक्त गरेका छन् ।  उनले नेपाली भूमि लुम्बिनी र कपिलवस्तुलाई नै भारतीय भूमि झैं उल्लेख गर्ने विषयले दुई देशका बीचमा आपसी कुटनीतिक सम्बन्धमा दरार आउनेसक्ने जनाएका छन् ।

‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्ते चित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ, यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ,’ उनले भनेका छन, ‘भारतीय राजनीतिक नेतृत्वले यस भित्तिचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर सञ्चार गर्नु बुद्धिमानी हुनेछ।’ उनले भनेका छन् ।

यसैबीच, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद्‌ भवनमा राखेको भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी राखेको नेपाल सरकारको नोटिसमा रहेको जानकारी दिएका छन् ।

मंगलबार बसेको संसद्‌को पूर्वाधार समितिको बैठकमा मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयबारे बुझ्न बाँकी रहेको जानकारी दिए । तर, सरकारले नोटिस भने गरिसकेको उनको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको नयाँ संसद भवनमा राखिएको नयाँ नक्साको आधिकारिकता बुझ्ने बताएका छन्। भारतीय संसद भवनको नक्सामा नेपाली भूमि समेत उल्लेख भएको विषयमा मंगलबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा कुरा उठेको थियो।