FLASH NEWS

लुम्बिनी केबलकार उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड बुटवल जाँदै


नेपाल आवाज २५ जेष्ठ २०८०, बिहीबार ११:०४ मा प्रकाशित १४०५ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बुटवल जाने भएका छन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकारको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड बुटवल जान लागेका हुन् ।


जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको उक्त केबलकारको आज औपचारिक उद्घाटन गर्न लागिएको हो । लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको बसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरुले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तब्य बनेको छ ।

बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुर जोड्ने केबलकारको २०७७ साल फागुन १ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । केबलकारको दूरी दुई किलोमिटर ६ सय मिटर रहेको छ । केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ ।

केबलकारमा मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डुला (बाकस) रहेका छन् । एक बाकसमा एकपटकमा ८ जना यात्रु सवार गर्न सक्नेछन् । केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने बताइएको छ ।

उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, एमाले नेता विष्णु पौडेललगायत सहभागी हुनेछन् ।

यससँगै लुम्बिनी प्रदेशमा पर्यटनको ढोका खुलेको आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले बताए। बुटवलबाट प्रदेशको राजधानी सरेको र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको अवस्थामा केबलकार सञ्चालनले बुटवल तथा भैरहवा क्षेत्रको पर्यटन विकाससँगै आर्थिक गतिविधिलाई पनि चलायमान बनाउने उनले बताए। केबलकार सञ्चालनसँगै रुपन्देही फेरि गुल्जार हुने अध्यक्ष ढकालको भनाइ छ। उनले आन्तरिक पर्यटन प्रवद्र्धनका साथै बुद्ध जन्मस्थल लुम्बिनी आउने र भारतीय पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे।

बटम स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा रहेको छ। यो लुम्बिनी प्रदेशको पहिलो केबलकार हो।

यस्तै, बुटवलदेखि उत्तर-पश्चिममा रहेको नुवाकोट डाँडा जोड्ने अर्को सिद्धार्थ केबलकार पनि निर्माणाधीन अवस्थामा छ।