FLASH NEWS

जनयुद्धमा सामेल नभएका व्यक्तिहरूले ‘प्रचण्ड’लाई मुद्दा हाले : देवेन्द्र पौडेल


नेपाल आवाज २९ जेष्ठ २०८०, सोमबार १९:५० मा प्रकाशित १२३१ पाठक संख्या

काठमाडौं – नेकपा माओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले जनयुद्धमा सामेल नभएका व्यक्तिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुद्दा हालेको बताएका छन् ।


सोमबार संघीय संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव पौडेलले जनयुद्धमा सामेल नभएका र जनयुद्धप्रति अपनत्व नभएकाहरूले प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका बताएका हुन् ।

उनले नेपालको शान्ति प्रक्रियालाई भाँड्ने तत्वहरूले मुद्दा हालेका बताए । पौडेलले शान्ति प्रक्रिया भाड्नका लागि माओवादी केन्द्र पार्टीलाई शान्ति प्रक्रियाबाट पछि फर्काउने हर्कत गरिएको बताए ।

उनले माओवादीविरुद्ध मुद्दा हालेर देश शान्ति, अमनचयन र सुशासनको अध्यायमा प्रवेश गर्न नसक्ने बताए । सचिव पौडेलले शान्ति प्रक्रियाका बाँकी कार्यभारहरू पूरा गर्नु सबैको कर्तव्य र दायित्व भएको बताए ।

सचिव पौडेलले सर्वोच्च अदालतले शान्ति प्रक्रिया भाड्ने क्रियाकलाप र गतिविधिलाई नियन्त्रण गर्ने विश्वास व्यक्त गरे । उनले प्रधानमन्त्रीलाई मनोवैज्ञानिक तनाब दिनका लागि मुद्दाको प्रसङ्ग निकालिएको भन्दै यसको वैचारिक र सैद्धान्तिक रूपले प्रतिवाद गर्ने बताए ।

उनले देशमा संविधान निर्माण, गणतन्त्र स्थापना र समावेशी समानुपातिक प्रतिनिधित्वका लागि तत्कालीन समयमा जनयुद्ध गरिएको भन्दै आन्दोलनमा मानिसहरू हताहत हुनु स्वभाविक भएको बताए ।