FLASH NEWS

आईसीसी क्रिकेट विश्वकप छनोट : अमेरिकामाथि नेपालको सानदार जित


नेपाल आवाज ५ असार २०८०, मंगलवार २०:१४ मा प्रकाशित १८२५ पाठक संख्या

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालले अमेरिकामाथि सानदार जित निकाले छ ।


जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा भीम सार्कीले १ सय १४ बलमा ७ चौका र १ छक्काको सहयोगमा अविजित ७७ रनको अर्धशतकीय ईनिङ खेले ।

पहिलो विकेटका लागि ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले ३० बलमा २५ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए । ओपनर शेख पाँचौ ओभरको अन्तिम बलमा सौरभ नेत्राभाल्करकको बलमा १६ बलमा १२ रन बनाउँदै एलबिडब्लु आउट भए ।

अर्का ओपनर कुशल भुर्तेलले ५४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए । दोस्रो विकेटका लागि भीम र कुशलले ६८ बलमा ४९ रनको महत्वपुर्ण साझेदारी भएको थियो । कुशल नोस्तुषा केन्जिगेको बलमा आउट भएसँगै यो साझेदारी तोडिएको थियो ।

कप्तान रोहित पौडेलले २९ बलमा १६ रन बनाए । कुशल मल्ल १३ बलमा १३ रन बनाउँदै आउट भए । पाँचौ विकेटका लागि भीम सार्की र दीपेन्द्र सिंह ऐरीले ६४ बलमा ७४ रनको विजयी साझेदारी गरे ।

दीपेन्द्रले ३२ बलमा ५ चौका र १ छक्काको सहयोगमा अविजित ३९ रन बनाए ।

अमेरिकाका लागि नोस्तुषा केन्जिगे, सौरभ नेत्राभाल्कर, निशर्ग पटेल र स्टेभन टेलरले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भएको थियो ।

अमेरिकाका लागि शायन जाहान्गिरले ७९ बलमा १० चौका र ३ छक्काको सहयोगमा अविजित १ सय रनको शतकीय ईनिङ खेले । अमेरिकाले सुरुआतको चार विकेट सस्तै गुमाएको थियो ।

पाँचौ विकेटका लागि गजानन्द सिंह र सुशान्त मोदानीले ७३ बलमा ४७ रनको साझेदारी गरेका थिए । वेस्ट इन्डिजसँगको अघिल्लो खेलमा शतक बनाएका सिंह २६ रनमा आउट भएका थिए ।

गजानन्द ४१ बलमा २ चौका र १ छक्काको सहयोगमा २६ रन बनाएर आउट भए ।

छैटौं विकेटका लागि शायन जाहान्गिर र सुशान्त मोदानीले ३७ बलमा २९ रनको साझेदारी गरे । ओपनर मोदानीले ७१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए ।

सातौं विकेटका लागि जाहान्गिर र निर्शग पटेलले ५४ बलमा ३४ रनको साझदारी गरे । पटेलले २५ बल खेलेर ८ रन बनाए ।

आठौं विकेटका लागि जाहान्गिर र जसदिप सिंहले ४१ बलमा ४२ रनको महत्वपूर्ण साझेदारी गरे । जसदिपले २५ बलमा १२ रन बनाए ।

नवौं विकेटका लागि जाहान्गिर र सौरभ नेत्राभाल्करले ३२ बलमा ३७ रनको साझेदारी गरे ।

नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए । गुलसन झाले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ललितनारायण राजवंशी १ विकेट आफ्नो नाममा गरे ।

दोस्रो खेल खेल्दै गरेको नेपाल अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित हात पार्न चाहन्छ । उता, अमेरिका पनि सोहि सोचका साथ मैदान उत्रने छ ।

पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको थियो । नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । उता, अमेरिका भने वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।

दुवै टोली पहिलो जितको खोजीमा रहने हुँदा खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा राखिएको छ ।

नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।

आजको जितसँगै सुपर सिक्समा पुग्ने नेपालको सम्भावना बलियो भएको छ ।

जितसँगै २ अंकका साथ नेपाल समूह ए को तेस्रो स्थानमा उक्लिएको छ । अमेरिका भने पाँचौं स्थानमा झरेको छ ।