FLASH NEWS

पर्यटनमन्त्री किरातीले सोधे उड्डयन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण


नेपाल आवाज १२ असार २०८०, मंगलवार १२:४३ मा प्रकाशित १२२५ पाठक संख्या

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसुदन किरातीले नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन्।


उनीमाथि उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको आरोप लगाइएको छ ।

सोमबार मन्त्रीस्तरीय निर्णय अनुसार ७ दिनभित्र जवाफ पेस गर्ने गरी महानिर्देशक अधिकारीलाई प्रस्टीकरण सोधिएको हाे ।

चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा नम्बर १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा छुट्याउने उल्लेख भएको अवस्थामा उक्त नीति विपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिँदै हिँडेको सम्बन्धमा मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेका छन् ।

अधिकारी महानिर्देशक भए पनि नेपाली दर्ताका दुई वटा विमान र ३ वटा हेलिकप्टर दुर्घटना भएको भन्दै मन्त्री किरातीले ‘उड्डयन सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न तपाई असफल रहेको किन मान्नु नपर्ने ?’ भनेर पनि प्रश्न सोधेका छन् ।

मन्त्रालयले उनलाई दुर्घटना रोक्नभन्दा दुर्घटनापछिको प्रतिक्रिया दिन मात्रै अघि सरेको, एरोड्रम सेफ्टी स्टान्डर्ड विभाग र राष्ट्रिय गौरबका आयोजनाको प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई बनाएर पोखरा विमानस्थलको प्रमाणीकरण गरेको,फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई उड्डयन सुरक्षा मूल्यांकनको पूर्व तयारीसमेत नगरीकन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको, परीक्षण उडानपछि प्रतिवेदन प्राप्त नभई एयरबस ३२० विमानलाई पोखरा विमानस्थलमा उडान गराएको,  पोखरा विमानस्थल उद्घाटनको दिन भीएफआरको समय सकिएपछि पनि लापरवाहीपूर्वक उड्डयन सुरक्षा नियम प्रतिकुल हुने गरी ५ वटा विमान कम्पनीका उडानहरु गराएको  विषयमा मन्त्रालयले अधिकारीलाई जवाफ पेश गर्न भनेको छ । पोखरा विमानस्थलको सञ्चालनमा ल्याउन छिनडाँडा काट्दा आर्थिक हानि नोक्सानी पुर्याएको लगायतका विषयमा पनि स्पष्टकीरण सोधिएको छ ।