FLASH NEWS

पहिरोका कारण पाल्पाका विभिन्न सडकखण्ड अवरूद्ध


नेपाल आवाज १६ असार २०८०, शनिबार १३:१२ मा प्रकाशित १३९९ पाठक संख्या

बुटवल- दुई दिनदेखि लगातार परेको वर्षापछि आएको पहिरोले पाल्पाका विभिन्न स्थानमा सडक अवरूद्ध भएका छन्।


सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडकखण्डको चिदिपानी धैरेनीमा लेदोसहित खसेको पहिरोले सडक अवरूद्ध भएको छ।

राम्दी देखि रामपुर जाने कालीगण्डकी करिडोर क्षेत्रको सेरामा पहिरो खसी सडक अवरूद्ध छ।

लेदो हटाउन २ वटा मेशिन तयारी अवस्थामा रहेपनि लगातारको वर्षाको कारण काम गर्न कठिनाइ भएको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख प्रदिपमणि निरौलाले बताए।

तानसेन रिडी सडकखण्डको ढुंगाखानीको तिन लाकुरी खण्ड पनि अवरूद्ध छ। सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ। तानसेन रानीमहल सडकखण्डको रानीमहलमाथि पनि पहिरो खसी सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ।

तानसेन बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्र, पानी मिल क्षेत्रमा बगेको लेदो तथा पहिरोले अवरूद्ध भएको सडक पहिरो र लेदो पन्छाएर एकतर्फी रूपमा संचालनमा आएको डिभिजन प्रमुख निरौलाले बताए।

यस्तै पाल्पा पूर्वखोलाको हेक्लाङ, रम्भाको फोक्सिङकोट सडकखण्डमा पनि पहिरो झरेर आवतजावत बन्द भएको ताहुँ प्रहरी चौकीले जनाएको छ।