FLASH NEWS

ललिता निवास प्रकरण: महानगरपालिकाका बहालवाला अधिकृतसहित तीनजना पक्राउ


नेपाल आवाज १७ असार २०८०, आईतवार १८:५० मा प्रकाशित १४२३ पाठक संख्या

काठमाडौं – बहुचर्चित जग्गा घोटला काण्डको रुपमा परिचित सरकारको स्वामित्वको बालुवाटारस्थित ललिता निवास जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा थप तीनजना पक्राउ गरेको छ ।


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार थप तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिकाका बहालवाला छैठौँ तहका अधिकृत शिवजी भट्टराईसहित नक्कली मोही बाबुराजा महर्जन र घमनकुमार कार्की रहेका छन् ।

यस जग्गा प्रकरणमा नेताहरू, कर्मचारी, व्यापारी र बिचौलिया मिलेर अपराध गरेको देखिन्छ । नेता, उच्च पदस्थ कर्मचारी र भूमाफियाको मिलेमतोमा चारपटक गरेर बालुवाटारको १४३ रोपनी जग्गा व्यक्तिका नाममा लगिएको थियो।

यही प्रकरणमा प्रहरीले केही दिनअघि सात जनालाई पक्राउ गरेको थियो । जसमध्येका तीनजना सुरेन्द्रमान कपाली, कलाधर देउजा र हुपेन्द्रमणि केसी पक्राउ परेकै दिन अदालतको स्टे अर्डरको सहायतामा रिहा भएका थिए ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम र पूर्वकर्मचारी गोपाल कार्की अहिले प्रहरी हिरासतमा छन्।