FLASH NEWS

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउन ‘प्रचण्ड’माथि दबाब


नेपाल आवाज १९ असार २०८०, मंगलवार ०८:४९ मा प्रकाशित १७८९ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भ्रष्टाचार विरुद्धको अभियानमा आक्रामक बनेका छन् । त्यसमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दह्रो साथ दिएका छन् ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाईप्रोफाइल’ माथि पनि कारबाही हुने डरले कांग्रेस र एमालेका शीर्ष नेताहरू अझै पनि डराइरहेका छन् ।

त्यही कारण एमाले अध्यक्ष केपी शर्मा ओली सरकार ढाल्नेसम्मको षड्यन्त्रमा लागेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रयोग गरेर बजेट फेल गराउने ओलीको षड्यन्त्र समाजवादी मोर्चाको गठनले तुहिएको छ ।

प्रचण्ड सरकारको निरन्तरता भएमा ओलीनिकट अन्य व्यक्तिहरू पक्राउ पर्ने डरले सरकार ढाल्न ओलीले कांग्रेसका नेताहरूसँग भित्रभित्रै सम्पर्क बढाइरहेका छन् । तर, देउवाले मानेका छैनन् ।

ओलीले गठबन्धन भत्काउन अन्तिममा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेर आफूलाई धोका दिएको देउवाले बिर्सिएका छैनन् । त्यसमाथि शेखर कोइराला समूह यही बेला देउवालाई कमजोर पार्ने दाउमा छन् ।

यस्तो बेला सरकार ढाल्ने हो भने देउवा कमजोर हुने र शेखर समूह बलियो हुने देउवा समूहको आकलन छ । तर, नक्कली भुटानी शरणार्थी काण्डबाट थप आफ्ना नेता जोगाउन देउवा गृहमन्त्री फेर्नुपर्ने रणनीतिमा छन् ।

प्रचण्डकै कुरा गृहमन्त्री श्रेष्ठले टेर्न छाडेपछि गृहमन्त्री फेरेर भए पनि कांग्रेससँगको सम्बन्ध जोगाएर गठबन्धनको सहमतिअनुसार चल्ने सोचमा प्रचण्ड देखिन्छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणपछि ललिता निवास जग्गा प्रकरणको कारबाहीले सरकारमाथि जनताको विश्वास बढेको छ । अरु यसपछि पनि ओम्नीको फाइल खोल्ने डरले एमाले आतंकित बनेको छ ।

प्रतिनिधि सभाबाट बजेट पारित भएसँगै प्रचण्ड नेतृत्वको सरकारबारे भइरहेको सम्भावित संकट तत्काललाई टरे पनि कुनै पनि बेला सरकार ढाल्ने बाटो प्रतिपक्ष दलका नेता ओलीले ढुकिरहेका छन् ।

सत्ताको भरोसा नेपाली कांग्रेस पनि प्रधानमन्त्री प्रचण्डसँग सन्तुष्ट छैन । विशेषगरी सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल भएर पनि महत्वपूर्ण निर्णयमा जानकारी नदिएको र कांग्रेसमाथि प्रहार गरेको भन्दै कांग्रेस सभापति देउवा प्रचण्डसँग असन्तुष्ट रहँदै आएका छन् ।

बुधबार राति सभापति देउवाले नेता कृष्णप्रसाद सिटौलालाई सँगै लिएर बालुवाटारमा प्रचण्डलाई भेटेर चेतावनी दिएका छन् । भेटघाटको सुरुवातमै नेता सिटौलाले प्रचण्डलाई प्रश्न गरेका थिए– ‘सत्ता गठबन्धन दिगो बनाउने हो कि एकतर्फी रूपमा अगाडि बढ्ने ? यही अवस्थामा अगाडि बढ्ने भएमा आफूहरूले समर्थन कायम राख्न सक्ने अवस्था छैन ।’

निकटस्थ स्रोतका अनुसार प्रचण्डले आफू मिलेर जान तयार रहेको बताएका थिए । लगत्तै त्यसो भए तपाईको पार्टीका नेता तथा गृहमन्त्रीले कांग्रेस नेतालाई किन तारो बनाउनु भएको छ भन्ने अर्को प्रश्न तेस्र्याएका थिए ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्दा जानकारी नदिएको तथा आफू संलग्नै नभएको घटनामा संलग्न छ भनेर निर्देशन दिएको, केन्द्रीय सदस्यद्वय आरजु राणा र मञ्जु खाणलाई अनाहकमा दुःख दिएको बताएका थिए । अब मिलेर अगाडि बढ्न गृहमन्त्रीको परिवर्तन अपरिहार्य रहेको गर्न नसक्ने भए आफूहरू सरकारबाट हात झिक्न बाध्य हुने बताएका थिए ।

त्यसपछि प्रचण्डले गृहमन्त्रीको बारेमा सोच्न सक्ने बताएका थिए । नयाँ गृहमन्त्री कसलाई बनाउनुहुन्छ भनेर कांग्रेसका नेताहरूले प्रश्न गरेका थिए । प्रचण्डले तपाईहरूले ठीक छ भन्ने नेतालाई अघि सार्ने तयारी गरिरहेको छु भनेका थिए ।

स्रोतका अनुसार प्रचण्डले उपमहासचिव वर्षमान पुनलाई मेसो मिलाएर गृहमा प्रवेश गराउने तयारी गरिरहेका छन् । प्रचण्डले पुनलाई वातावरण आफ्नो पक्षमा पार्नसमेत भनेको निकटस्थहरू बताउँछन् ।

प्रचण्डले पुनलाई गृहमन्त्रीमा वातावरण निर्माण गर्न गोप्य रूपमा सुझाएका छन् । त्यसपछि भर्खर चार महिना चीनमा स्वास्थ्योपचारपछि फर्किएका पुनले आफ्नो पक्षमा वातावरण तयार गर्ने केही रणनीतिहरू बाहिर ल्याइरहेका छन् ।

माओवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच एकीकरण प्रयास चलिरहेको छ । नेकपाका महासचिव विप्लवलाई माओवादीमा पनि महासचिव दिने कुरा चलिरहेको छ । पुनले विप्लवलाई महासचिव मान्न आफू र जनार्दन शर्मा तयार रहेको अन्तर्वार्ता केही मिडियालाई दिएका छन् । यसले उनको पक्षमा पार्टीमा माहोल बन्ने र मन्त्री बन्न सहज हुने निकटस्थ नेताहरू बताउँछन् ।

कांग्रेस नेताहरूले एक साताको अल्टिमेटम शैलीमा कुराकानी गरेर बालुवाटारबाट फर्किएको पनि स्रोत बताउँछ ।