FLASH NEWS

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै


नेपाल आवाज २८ असार २०८०, बिहीबार १५:५६ मा प्रकाशित १०८७ पाठक संख्या

काठमाडौं – दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउने भएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार एक सूचना जारी गरी लु को नेपाल भ्रमणबारे जानकारी गराएको हो ।


नेपाल भ्रमणका क्रममा लु ले नेपालका राजनीतिक दलका नेताहरु र दूतावासका कर्मचारीलाई भेट गर्नेछन् । लु अमेरिकाबाट सिधै नेपाल आउने र केही घण्टामा दक्षिण एसियाको अर्को कुनै देशमा जाने स्रोतको भनाइ छ ।

उनी नेपालमा एमसीसी कार्यान्वयनको अवस्थाबारे जानकारी लिने उद्देश्यले नेपाल आउन लागेका परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

लु अमेरिकी विदेशमन्त्रालयका प्रभावशाली सहायकमन्त्रीमध्येका हुन् । उनले यसअघि पनि दुईपटक नेपालको भ्रमण गरिसकेका छन् । उनी नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारितको चरणमा रहेको अवस्थामा अमेरिकाबाट तारन्तार भएका भ्रमणको क्रममा नेपाल आइपुगेका थिए ।

त्यसपछि अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुने विषयमा संवाद गर्न पनि नेपाल आइपुगेका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपी प्रस्तावलाई अस्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्‍बाटै पारित गरेपछि उनी त्यसको केही समयपछि नै नेपाल आइपुगेका थिए ।

एमसीसी पारित हुने विषयमा नेपालमा चर्को बहस भइरहेको अवस्थामा सोही वर्षको २७ माघमा एकै दिन लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन सम्वादसमेत गरेका थिए ।

संवाद भएको करिब दुई हप्तापछि १५ फागुन २०७८ मा नेपालको संसदले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेको थियो ।