FLASH NEWS

मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित


नेपाल आवाज ३१ असार २०८०, आईतवार २२:११ मा प्रकाशित १३८७ पाठक संख्या

काठमाडौं – मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतिले पारित भएको हो ।


कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको सो विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख देवराज घिमिरेले निर्णयार्थ पेश गर्दा सर्वसम्मतिले विधेयक पारित भएको हो ।

खास गरी तराईका क्षेत्रमा मिटरब्याजीबाट पीडित बन्नेहरूको सङ्ख्या बढ्दै गई मिटरब्याजले समस्या सिर्जना गरेकोले सरकारले कानुन बनाउने प्रक्रिया स्वरूप मुलुकी संहितामा सरकारले संशोधन गर्ने गृहकार्य थालेको थियो ।

अनुचित आर्थिक लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र घरसारमा हुने लेनदेन सम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथ सरकारले गत वैशाख २० गते अध्यादेश ल्याएको थियो ।

मुलुकी देवानी संहिता, २०७४ मुलुकी देवानी कार्यविधि संहिता, २०७४, मुलुकी अपराध संहिता, २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न जारी भएको उक्त अध्यादेश प्रतिनिधि सभाबाट गत वैशाख २७ गते र राष्ट्रिय सभाबाट गत जेठ ५ गते स्वीकृत भएको थियो । संघीय संसद्को दुवै सदनबाट स्वीकृत भएको उक्त अध्यादेशले गरेको व्यवस्थालाई निरन्तरता दिन सरकारले अध्यादेश प्रतिस्थापन गर्न  मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक अघि बढाएको थियो । यो विधेयक पारित भएसँगै मिटरब्याज कानुनी प्रक्रियाभित्र आएको छ । मिटरब्याज पीडितहरूले लामो समयदेखि माइतीघर मण्डलामा मिटरब्याजको पासो रोक्ने कानुन बनाउन निरन्तर रूपमा आन्दोलन र सरकारलाई खबरदारी गर्दै आइरहेका थिए ।

प्रतिनिधिसभाबाट पारित भइसकेपछि यो विधेयक अब फेरि राष्ट्रियसभामा जानेछ। राष्ट्रियसभामा यो विधेयक यसअघि नै पारित भइसकेको छ। अब संशोधन स्वीकार गरेपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ जानेछ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनी रुप पाउनेछ।