FLASH NEWS

ल्यान्डफिल्ड क्षेत्रका स्थानीय र सरकार बीचको वार्ता मिलेन


नेपाल आवाज ३ श्रावण २०८०, बुधबार १७:२७ मा प्रकाशित १३२७ पाठक संख्या

काठमाडौं – ल्यान्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र शहरी विकास मन्त्रालयबीचको बैठक बिना निष्कर्ष सकिएको छ।


तीन दिनदेखि सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने सहरी विकासमन्त्रीको पहलमा सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा बसेको बैठक बिनानिष्कर्ष सकिएको हो।

बैठकमा नुवाकोट ककनी गाउँपालिका अध्यक्ष,वडा अध्यक्ष र स्थानीयवासीहरु र शहरी विकासमन्त्री सीता गुरुङसहित बसेको बैठक विना निष्कर्ष सकिएको छ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ल्याण्डफिल्ड साइट प्रमुख रवीन्द्र बोहोराले सरोकारवाला र सरकारबीच भएको छलफल बिनानिष्कर्ष सकिएको बताए।

उनले छलफलमा काठमाडौं महानगरका प्रतिनिधिको सहभागिता नभएकाले छलफल निष्कर्षमा पुग्न नसकेको भन्दै काठमाडौं महानगरपालिकासँग छलफल गरी टुंगोमा पुग्ने बताए।

काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापन हुँदै आएको बन्चरेडाँडामा तीन दिनदेखि दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीले फोहोर बोकेका गाडी रोकिरहेका छन्।

उनीहरुको माग सम्बोधन गरी तत्काल फोहोर व्यवस्थापन गर्ने उनले बताए।

तत्काल बन्चरेडाँडामा फोहोर व्यवस्थापन र फोहोरबाट फैलिएको दुर्गन्ध न्युनीकरणका उपायबारे प्रारम्भिक छलफल मात्रै भएको उनले बताए।

छलफलमा ल्याण्डफिल्ड साइटबाट १ किलोमिटरसम्म झिँगा फैलिएकाले स्थानीयलाई बस्न अफठ्यारो भएकाले तत्काल नियन्त्रण गर्ने र फोहोर बिसर्जन गरेपछि माटोले क्यापिङ गर्ने काम नभएको कुरा स्थानीयले उठाएका थिए।

उनले क्यापिङको लागि माटोको समस्या आएकाले विगतमा १७ सय रोपनी अधिकरण भएको जग्गाको सिमाङ्कन हटाएकाले त्यसलाई त्यसलाई पुनःसिमाङकन गरेर  माटो ल्याउने स्थान महानगरलाई उपलब्ध गराउने बताए।

फोहोरसँगै मान्छे बस्ने अवस्था नभएकाले अतिप्रभावित क्षेत्रका स्थानीयवासीलाई मुआब्जा दिएर स्थान्तरण गर्न इआईए गर्न भोलिदेखि नै प्राविधिक खटाउने बताए।

उनले इआईए प्रतिवेदन आएपछि प्रभावित क्षेत्रका स्थानीयहरुलाई मुआब्जा दिएर स्थान्तरण गरिने बताएका छन्।

त्यस्तै ककनी गाउँपालिका वडा न.३ वडा अध्यक्ष धनराज बजगाईंले बैठकमा कुनै निष्कर्ष निस्कन नसकेको बताए ।   उनले आइतबार काठमाडौँ महानगरपालिका लगायत १७ वटा स्थानीय तहहरुसँग छलफल गर्ने तयारी रहेकाले उक्त बैठकपछि मात्रै फोहोरमैला व्यवस्थापन कसरी गर्ने निस्कर्षमा पुग्ने बताए ।

उनले तत्कालका लागि अव्यवस्थित रुपमा फालिएको फोहोरलाई तत्काल व्यवस्थापन गर्ने मन्त्रालयले प्रतिबद्धता जनाएको बताए । उनले झिँगा नियन्त्रण गर्न सरकारले पहल गर्ने बताएको बताए ।

अध्यक्ष बजगाईंले सरकारसँग फोहोर व्यवस्थापनको लागि सधैँ लडाई गर्ने भन्दा पनि अब एक पटक सम्बोधन गर्ने भनेको काम गर्ने समय दिने बताए ।