FLASH NEWS

भ्रष्ट व्यवस्था र तन्त्र अन्त्य गर्न जनता सडकमा उत्रनु वाहेक अर्को विकल्प छैन: कमल थापा


नेपाल आवाज ५ श्रावण २०८०, शुक्रबार १९:०५ मा प्रकाशित १२७३ पाठक संख्या

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले आजको सडक संघर्ष तेस्रो जनआन्दोलनको पहिलो फिलिङ्गो भएको र प्रारम्भिक संकेत भएको बताएका छन् ।


जब अति हुन्छ,जब जनताको धैर्यको बाँध फुट्छ तब जनता सडकमा उत्रेर संकटको समाधान खोज्न बाध्य हुन्छन् भन्दै थापाले संघीय गणतन्त्रको नाउँमा कायम रहेको भ्रष्ट व्यवस्था र तन्त्र अन्त्य गर्न जनता सडकमा उत्रनु वाहेक अर्को विकल्प नभएकोमा जोड दिए ।

आज काठमाडौंको शान्ति बाटिकामा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै थापाले भने, ‘जसले यो व्यवस्थाबाट अकुत सम्पत्ति जोडेका छन्, ब्रम्हलुट गरेका छन् र राजनीतिक साम्राज्य कायम गरेका छन् उनीहरु यो व्यवस्था परिवर्तन त के सुधार पनि गर्न चाहन्नन् भन्दै देश अहिले संकटको दलदलमा भासिएको चर्चा गरे । नेपाली सेना वाहेक राज्यका सबै अंग, संरचना र निकायहरुमा धमिरा लागेको खिया लागेको भन्दै उनले सामान्य सुधारले अब संकटबाट मुक्ति संभव नभएको जिकिर गरे । ‘अब व्यवस्था र प्रणाली नै परिवर्तन गर्नु आवश्यक छ ।’

जनताले न्याय पाउने अदालतबाट हो, तर अदालतबाट काकताली परेर वाहेक साधारण अवस्थामा जनताले न्याय पाउने आशा मरिसकेको भन्दै उनले राजनीतिक पहुँच र सम्पर्कका आधारमा न्यायाधीशहरू नियुक्त हुन्छन्, त्यसैले राजनीतिक दल र नेताहरुको आदेश पालना न्यायपालिकाको नियति बनेको बताए । नेताहरुको आदेश नमाने न्यायाधीशहरु महाभियोगको शिकार हुनुपर्ने दुखद अबस्था भएको समेत उनले भने ।

थापाले अख्तियारमा पार्टीको भागवण्डा अनुसार नियुक्ती हुने भएकोले अख्तियारले साना माछा मात्र समात्ने गरेको दाबी गरे ।

‘प्रशासन र प्रहरी पार्टीको प्रभावमा रहेका छन् । आदेशअनुसार काम नगरे जागिर नै धरापमा पर्छ’, थापाको टिप्पणी थियो ।
ललिता निवासको सरकारी जग्गा काण्डमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको छानविन प्रशंसनीय भएको तर राजनीतिक नेतृत्वको दवावले गर्दा निर्णय सदर र निर्णय गर्ने मन्त्री र प्रधानमन्त्रीलाई छुन नसकेको उनको भनाई थियो ।

‘नक्कली भुटानी शरणार्थी काण्डमा करोडौं रकम बुझेका व्यक्तिहरू छानबिनको घेरामा परेका छैनन् । प्रजातन्त्रको मेरुदण्ड मानिने चुनाव व्यापारीकरण र अपराधीकरणको प्रभावमा परेको छ । प्रदेश संरचना राजनीतिक अस्थिरता र भ्रष्टाचारको अखडा बनेको छ’, थापाले भने, ‘धर्मनिरपेक्षताको आडमा भैरहेको धर्मपरिवर्तनले सनातन धर्म संस्कृति कमजोर भएको छ । अर्थतन्त्र संकटग्रस्त भएको छ । मिटरव्याजी, सहकारी र बैंकबाट लाखौं जनता पिडित भएका छन् । यस्तो अवस्थामा अब सडकबाटै परिवर्तन खोज्नुपर्छ ।’

भ्रष्ट व्यवस्था, भ्रष्टाचारी र लेण्डुपवादी प्रवृत्ति अन्त्य गर्न तेस्रो जनआन्दोलनको तयारीमा जुट्न आमजनसमुदायलाई आह्वान समेत थापाले गरेका छन् ।

हिन्दुअधिराज्यको पुनस्थापना तथा सुशासन कायम गरी आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न समान विचारधारा भएका सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एकजुट हुन पनि उनले आग्रह गरेका छन् ।