FLASH NEWS

सेटिङबिना सुन तस्करी सम्भव छैन,वास्तविकता थाहा पाए पछी आवाज उठाउछौं : रवि लामिछाने


नेपाल आवाज ६ श्रावण २०८०, शनिबार १०:०४ मा प्रकाशित १४२३ पाठक संख्या

विराटनगर – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् ।


पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले विराटनगरमा पत्रकारसँग कुरा गर्दै भने, ‘ बिनासेटिङ, मिलेमतो नभएर सम्भव छैन । तर कुन लेबलको, कुन ढंगको हो भन्ने अनुसन्धान गर्नुपर्ने होला ।’

सर्वसाधारणको एउटा मोबाइलसमेत भेट्ने सरकारले सयौं किलो सुन नभेट्ने भन्ने नहुने उनले बताए । उनले सेटिङ नभएसम्म विमानस्थलबाट सुन वा अरु कुनै पनि सामग्री तस्करी सम्भव नरहेको बताए । उनले भने, ‘ सेटिङबिना यति ठूलो परिमाणको सुन तस्करी सम्भव छैन । यो सेटिङमा भएको हो । तर, कुन तहसम्मको सेटिङ छ भन्ने मात्रै हो ।’

उनले सुन बरामद प्रकरणमा अनुसन्धान जारी भएकोले यसबाट थप टिप्पणी गर्न नहुने बताए । उनले निष्पक्ष छानबिन हुनुपर्छ भन्ने आफ्नो पार्टीको माग रहेको बताए ।

एमालेले गृहमन्त्रीको राजीनामा मागेको सन्दर्भमा उनले अनुसन्धान नहुँदै राजीनामा माग्नु उचित नभएको बताए । अरुले राजीनामा मागे भन्दैमा राष्ट्रिय स्वतन्त्र पार्टीले नमाग्ने बताउँदै उनले धैर्य गर्ने बताए । वास्तविकता थाहा पाएर गलत हो भने मात्रै आवाज उठाउने उनले बताए ।

‘अरुले जे गरे त्यही स्वतन्त्र पार्टीले गर्दैन,’ उनले भने, ‘हामी धैर्य गर्छौं । वास्तविककता थाहा पाएर मात्रै सडक सदनमा कुरा गर्छौं ।’

गत बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चेकजाँच पास गरी लाँदै गरिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले सय किलो सुन बरामद गरेको थियो । अहिले प्रहरी तथा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेकाे छ।