FLASH NEWS

रवि लामिछाने भन्छन् – सेनाको संख्या घटाउनुपर्छ भनेर कहीँकतै बोलेको छैन


नेपाल आवाज ६ श्रावण २०८०, शनिबार ११:१९ मा प्रकाशित १२१९ पाठक संख्या

विराटनगर – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली सेनाको संख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको बताएका छन् ।


विराटनगर–११ पिचरास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सेनाको सङ्ख्या घटाउनु पर्छ भनेर संसद तथा पार्टीका अन्य कार्यक्रममा पार्टीको सांसद तथा नेताले समेत नबोलेको बताए । उनलेभने,‘ विधिको शासनद्वारा राष्ट्र सञ्चालन भएमा सुशासन कायम हुनेमा पार्टी स्पष्ट छ ।’

सभापति लामिछानेले प्रदेश संरचना बेढंगको हुँदा पुनः संरचना लिएर अगाडि बढ्नुपर्ने बताए। प्रदेश संरचनाबारे पार्टी असन्तुष्ट रहेको र प्रदेश संरचनालाई राजनीतिक दलहरू बसेर ठिक गरेर अघि बढ्नुपर्नेमा उनले जाेड दिए। ‘प्रदेश संरचना बेढंगको भयो। त्यसमा हामी बेखुसी छौँ। प्रदेशकाे पुन:संरचना नबनाइ अघि बढ्न हुँदैन। त्यसैले हामी निर्वाचनमा प्रदेशमा अघि नबढेका हौँ। यसबारे दलहरू बसेर प्रदेशलाई पुनः संरचनामा लिएर जानुपर्छ।’

उनले वैदेशिक रोजगारीमा गएका युवाको विषयमा रास्वपाले काम गरिरहेको दावी गरे।

सभापति लामिछानेले भने, ‘एउटा टाइमलाइनमा हामी अघि बढ्छौँ। हामीले उठाएका मुद्दाबाट पछि छैनौँ। तर पनि अहिले त्यसबारे मूल्यांकन गरिहाल्न हतारो हुनसक्छ। अलिक समय हामीलाई दिनुहोला। हामी हाम्रो वाचा पूरा गर्न तयार छौँ।’

त्यसैगरी, उनले राजनीति भागवण्डाका कारण न्यायालय लथालिंग भएको बताए।

‘न्यायालयको प्रक्रियालाई सम्मान गर्दै खबरदारी गर्न अघि बढेका छाैँ। प्रधानन्यायाधीश नियुक्तको विषयमा सचेत छौँ। राजनीतिक भागवण्डाबाट देशका महत्त्वपूर्ण पदहरू दिइने प्रणाली छ। यसलाई ह्याण्डिक्याप बनाइएर राखिएको छ त्यो नै आफैंमा आपत्तिजनक छ। तमाम बेथितिहरूको विषयमा हामी आवाज उठाइरहेका छाैँ’, सभापति लामिछानेले भने।

उनले आफ्नो पार्टी आम समर्थक पार्टी भएको स्पष्ट पार्दै आगामी मङ्सिरदेखि पार्टीको अधिवेशन कार्य सुरु हुने जानकारी दिए ।