FLASH NEWS

नेता कुटिएको विरोधमा कलैया बजार बन्द


नेपाल आवाज १० श्रावण २०८०, बुधबार १२:२९ मा प्रकाशित १२३१ पाठक संख्या

बारा – जिल्ला प्रहरी कार्यालय बारा परिसरमा नेता कुटिएको विरोधमा आन्दोलनकारीले कलैया बजार बन्द गरेका छन् ।


नेपाली कांग्रेसका जिल्ला सचिव भैयाराम यादव र नेकपा समाजवादीका जिल्ला उपसचिव ध्रुव प्रसाद यादवमाथि भएको कुटपिटको विरोधमा स्थानीय नेता कार्यकर्ताले आज कलैया बजार बन्दको आह्वान गरिएको हो।

कुटपिटमा संलग्न प्रहरी अधिकारीलाई बर्खास्त नगरिएको भन्दै कांग्रेस र नेकपा एसले कलैया बजार बन्दको आह्वान गरेको छ। सडकमा टायर बालेर उनीहरू यातायात र पसलहरू बन्द गराएका हुन् । मोटरसाइकल समेत चल्न दिइएको छैन ।

यता, जिल्ला प्रहरी कार्यालयले बजार र यातायात बन्द गराउन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र प्रहरीबीच कलैया बजारमा तनावको अवस्था सृजना भएको छ ।

सवारी दुर्घटनाको विषयलाई लिएर साउन २ गते भइरहेको छलफलका क्रममा कांग्रेस जिल्ला सचिव भैयाराम र नेकपा एसका जिल्ला उपसचिव ध्रुवमाथि प्रहरी अधिकारीले कुटपिट गरेको आरोप लागेको थियो ।

कुटपिटको आरोप लागेका प्रहरी नायब निरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डे र प्रहरी निरीक्षक (इन्स्पेक्टर) रूपेश साहलाई निलम्बन गरेर जिम्मेवारीबाट हटाई हटाइएको छ ।

घटना छानविनका लागि मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रवीण पोखरेलको संयोजकत्वमा छानबिन समिति बनेको छ। उक्त समितिले समेत छानबिन गरिरहेको छ ।