FLASH NEWS

सुन तस्करी प्रकरण: रेडी ट्रेडर्सको ६६ कार्टुन ब्रेक शुमध्ये आधाबाट सुन निकालिएकाे अवस्थामा फेला


नेपाल आवाज ११ श्रावण २०८०, बिहीबार ११:३१ मा प्रकाशित १३१५ पाठक संख्या

काठमाडौं – सय किलो अवैध सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको गोदामबाट बरामद गरेकाे ब्रेक शुमा पनि सुन नै भेटिएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ।


राजस्व अनुसन्धान विभागले सोह्रखुट्टेको एक घरमा छापा मारेको थियाे। साे क्रममा ६६ कार्टुद्द ‘ब्रेक शु’ बरामद भएको थियाे।

राजस्वले बरामद गरेकाे ६६ कार्टुन ब्रेक शुमध्ये आधाबाट सुन निकालिएकाे अवस्थामा फेला परेकाे हाे।

विभागले बरामद गरेकाे ब्रेक शु ११ सय ६२ थान बरामद भएको खुलेकाे छ। जसमध्ये प्रारम्भिक परिक्षणमा आधाभन्दा धेरै ब्रेक शुबाट तस्करले सुन झिकिसकेको पाइएको स्राेतले जनाएकाे छ।

साथै सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिले पछिल्लो २ महिनाभित्र आयात गरेका सबै ब्रेक शुमा सुन नै भएको पुष्टि भएको छ।

यसै क्रममा, राजस्व अनुसन्धान विभागले सुन तस्कर गिरोहको बालुवाटारस्थित एक गोदाममा छापा मारेको छ । पक्राउ गरेका चिनियाँ नागरिक जिक्वान लिनको बालुवाटारस्थित गोदाममा विभागले बुधबार साँझ छापा मारेको हो । त्यसक्रममा उक्त गोदाममा सुन गाल्ने मेसिन भेटिएको विभाग स्राेतले बताएको छ । राजस्व स्रोतका अनुसार उनको गोदाममा फेला परेको मेसिन राष्ट्र बैंकसँग रहेको भन्दा बढी क्षमताको छ। उनले यसअघि पनि तस्करीको सुन भित्र्याएको र त्यही गोदाममा गालेर बेचेको आशंका राजस्वले गरेको छ।

तस्करीमा संलग्न व्यक्तिको गोदामबाटै सुन गाल्ने मेसिन भेटिएपछि यो गिरोहले ठूलो परिमाणमा सुन तस्करी गरेको आधार देखिएको छ ।

यसअघि गत ३ साउनमा विमानस्थलबाट बाहिरिएको करिब सय किलो सुन बरामद गरेर विभागले अनुसन्धान गरिरहेको छ ।
हालसम्म यस प्रकरणमा १७ जना पक्राउ परिसकेका छन् । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको विभिागले जनाएको छ ।