FLASH NEWS

सुन तस्करीमा आफ्नो नाम पनि मुछिएपछि उच्चस्तरीय छानबिन समिति बनाउन वर्षमान पुनको माग


नेपाल आवाज १५ श्रावण २०८०, सोमबार १६:१२ मा प्रकाशित १२३१ पाठक संख्या

काठमाडौं –  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एक क्वीन्टल बढि सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका छन् ।


सोमबार बिहान बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा पुनले समिति बनाएर छानबिन गर्न माग गरेका हुन् । तस्करीको आरोपमा पक्राउ परेका दावा छिरिङसँग पुन सम्बन्ध रहेको आशंका चलिरहँदा पुनले समिति बनाउन माग गरेका हुन् ।

उनले दावासँग आफ्नो सामान्य चिनजान मात्रै रहेको बताउँदै तस्वीरलाई लिएर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताए । आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी शहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एकपटक डेरामा लिएर आएको पुनले बताए ।

‘दावा पक्राउ परेपछि आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्वीरलाई अहिलेको घटनासँग जोडेर प्रचार भयो । यो मेरो सार्वजनिक छविमाथिको आक्रमण र चरित्र हत्या हो’ उनले भने ।

अपराधमा जो सुकै संलग्न भएपनि कारबाही हुनुपर्ने उनले बताए ।