FLASH NEWS

सुन तस्करी प्रकरणमा एमालेले माग गरेजस्तो छानविन समिति आवश्यकता छैन: जनार्दन


नेपाल आवाज १७ श्रावण २०८०, बुधबार १७:११ मा प्रकाशित १३३९ पाठक संख्या

काठमाडौं –  नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा नेकपा (एमाले) ले माग गरेजस्तो छानविन समितिको आवश्यकता नरहेको बताएका छन् ।


आज पार्टीको केन्द्रीय समिति बैठक सुरु हुनु अगाडि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले राजश्व अनुसन्धान विभाग र सिआईबीले अनुसन्धान बढाइरहेको उनले बताए ।

उनले भने, ‘अनुसन्धान गर्ने निकाय सरकारकै हो। सरकारकै निकायले काम गरिराखेका छन्।सरकारले पक्रेको छ। सरकारले नै पक्रेको कुरामा सरकारले अनुसन्धान गर्न नसक्दा, अनुसन्धान नहुँदा सत्य तथ्य पत्ता नलाग्दा उच्च स्तरीय पनि आवश्यकता पर्दा बनाउनुपर्ला। सरकारले पक्रेको कुरामा अहिले उच्चस्तरीय छानबिन समितिको आवश्यकताभन्दा पनि अनुसन्धान अघि बढाएर आएको तथ्य आइसकेपछि हो वा होइन भन्ने कुराको टीकाटिप्पणी गर्ने ठाउँ भइहाल्छ नि।’

उनले एमालेलाई अहिले सरकारकै निकायले गरिरहेको छानबिनमा सहयोग गर्न आग्रह गरे। उनले २२ गतेसम्ममा सदन खुलाउने विषयमा सहमति हुने विश्वास व्यक्त गरे।