FLASH NEWS

राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको छ: चित्रबहादुर केसी


नेपाल आवाज १९ श्रावण २०८०, शुक्रबार २०:०१ मा प्रकाशित १२३१ पाठक संख्या

काठमाडौं – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चित्रबहादुर केसीले राज्यसत्ता नै लुटपाटमा लागेको बताएका छन्।


शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति केसीले राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको बताएका हुन्।

उनले कुनै पार्टी र व्यक्ति विशेषमात्र नभई सम्पूर्ण राज्यसत्ता नै लुटपाटमा सामेल भएको बताए। उनले राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिको निर्वाचन छिटोभन्दा छिटो हुनुपर्ने पक्षमा आफू रहेको बताए। उनले समितिको बैठक बस्न नसक्नुमा आफ्नो मात्रै दोष नभएको भन्दै उनले यसको दोष सबैले लिनुपर्ने बताए। बैठक बस्नका लागि आफूले समिति सदस्यहरुसँग छलफल गर्दा एजेण्डा छैन भनेर पन्छाइएका कारण बैठक बस्न नसकेको उनले जानकारी गराए।

उनले भने – ‘सभापतिको चुनाव हुनुपर्छ भन्ने मेरो मान्यता हो । यहाँ भनाई के आयो भने, हामी सबैको बराबर जिम्मेवारी हो नि त त्यो । म यहाँ उमेरले जेठो भएकोले अहिले एकछिन सभापति भएको न हो । मैले बैठक बोलाएन भनेर त्यसरी मेरो थाप्लोमा हाल्नु त भएन नि । सल्लाहमा मैले भनिरहेको छु, किन बैठक बस्दैन ? साथीहरुले भन्नुहुन्छ, अहिले भर्खरै एजेण्डा छैन । अहिलेको नेपालको स्थिति धेरै गम्भिर छ ।’

‘यो राज्यसत्ता नै लुटपाटमा, भ्रष्टाचारमा लागिसकेपछि गर्नुहुन्छ के ? कसलाई थाहा छैन ? यहाँ कुनचाहीँ पार्टी हो ? कुनचाहीँ व्यक्ति हो ? भन्नुभन्दा पनि राज्यसत्ता पूरै लुटपाटमा सामेल भइसकेपछि त गाह्रो छ हामीलाई । तैपनि हामीले हरेश खानेकुरा भएन । यो लोकतन्त्र छ र हामीले कमसेकम जनताको बीचमा समसामयिक विषयमा कुरा गरिराखेका छौँ । यो बैठकलाई निरन्तरता दिनुपर्छ । म केहीगरि अनुपस्थित भएपनि खुर्सानीबिना भान्सा अड्कन्न भन्छन् नि । त्यसकारण माननीयज्युहरुले पहल गरेर यो बैठकलाई चलाउनुपर्छ ।’

उनले आजको बैठकमा गृहमन्त्रीलाई बोलाइएको भएपनि नेकपा(माओवादी केन्द्र)को केन्द्रिय कमिटी बैठकका कारण गृहमन्त्री आउन नसक्ने जानकारी आफूलाई गराएको बताए । । उनले मुलुकको तस्बिर डरलाग्दो देखिएको भन्दै सबैले जिम्मेवार भएर सडक, सदन र समितिमा गम्भिर रुपले अगाडी जानुपर्नेमा जोड दिए ।