FLASH NEWS

बेनी–जोमसोम सडक : चार दिनदेखि अवरुद्ध यातायात सञ्चालनमा


नेपाल आवाज २४ श्रावण २०८०, बुधबार २०:०७ मा प्रकाशित १५७९ पाठक संख्या

म्याग्दी — बेनी–जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका-२ बैंसरीमा खसेको पहिरोले चार दिनदेखि अवरुद्ध यातायात बुधबार दिउँसो साढे १ बजेबाट सञ्चालन भएको छ । सडकको पश्चिम भीरको डिलभन्दा माथिल्लो क्षेत्रमा चलेको पहिरोबाट निरन्तर लेदोसहित ढुंगामाटो तल सडकमा खस्ने र थुप्रो लाग्ने गरेको थियो ।


जिल्ला प्रहरी प्रमुख डिएसपी मदन कुँवरका अनुसार प्रहरी, सशस्त्र, सेना र यातायाच मजदुरहरु जुटेर पहिरोबाट तल खस्न ठिक्क परेका ढुंगामाटोलाई तल खसाल्ने र पहिरोमा रहेको पानीलाई पाइपबाट तर्काएपछि एक्स्काभेटरले सडकमा थुप्रिएको पहिरो पन्छ्याएर यातायात सञ्चालन गरिएको हो । यातायात खुलेसँगै चार दिनदेखि सडकमा अलपत्र परेका भारतिय पर्यटकसमेत यात्रु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

‘पहिरोको डिलमा खस्न ठिक्क परेका ढुंगामाटो हटाएपछि केही समयलाई जोखिम कम भएको छ । आकाशबाट पानी पर्न रोकिएकोले सडकमा थुप्रिएको लेदो पन्छ्याएर यातायात सुचारु भएको छ,’ प्रहरी नायव उपरीक्षक मदन कुँवरले भने, ‘बैंसरीको पहिरो पहाडको टुप्पोबाट खस्ने भएकोले बृहत् रोकथामको योजना नबनाई पहिरो रोकिने देखिन्न । बेनी–जोमसोम सडकमा खास काम नभई यात्रा नगर्नु उत्तम हुन्छ ।’

त्यसैबीच, बेनी–जोमसाोम सडकको गलेश्वर–घाँसासम्मको ३८ किलोमिटर खण्डमा राति सवारी चलाउन रोक लगाएको छ । यो खण्डको अधिकांश क्षेत्रमा माथिबाट पहिरो खस्ने जोखिम रहेकोले यात्रुको सुरक्षाका लागि राति यातायात चलाउन रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी जनाएको छ ।