FLASH NEWS

एसपीहरुको सरुवाको गृहकार्य शुरु, २० जिल्लाका प्रमुख हेरफेर हुदै


नेपाल आवाज १९ माघ २०८०, शुक्रबार १०:२७ मा प्रकाशित १०३३ पाठक संख्या

काठमाडौं – प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवाको गृहकार्य शुरु गरेको छ । प्रहरी नियमावलीले एसपीसम्मका प्रहरी अधिकारीको सरुवाको निर्णय गर्ने अधिकार प्रहरी महानिरीक्षक (आईजीपी)लाई दिएको छ ।


गृहका अधिकारीहरूले एसपी सरुवाको तयारी गर्न र त्यसको सूची गृहमा ल्याउन आईजीपी बसन्त बहादुर कुँवरलाई फोन गरेर निर्देशन दिएको स्रोत बताउँछ । गृहले एक वर्षमा इन्चार्ज खाली हुने जिल्लाको एसपी सरुवा गर्न लागेको हो ।

गत वर्ष झापामा दुर्गा रेग्मी, मोरङमा दीपक पोखरेल, चितवनमा रामेश्वर कार्की, पर्सामा कोमल शाह, रुपन्देहीमा भरत बहादुर बिक, गोरखामा अनुपम श्रेष्ठ, तनहुँमा अवदेश बिष्ट, कञ्चनपुरमा कमल थापा, धनकुटामा कृष्ण प्रसाद कोइराला, धादिङमा गौतम मिश्र, गुल्मीमा नवीन किशोर प्रधान, सप्तरीमा नरेन्द्र कार्की, महोत्तरीमा प्रकाश मल्लको सरुवा भएको थियो ।

त्यस्तै भाग्येन्द्र पुरुष ढकाल काभ्रे, योगेन्द्र कुमार खड्का बाग्लुङ, संजय राउत स्याङजा, सुधिरराज शाही बर्दिया, र हेरम्ब शर्माको पाल्पा तथा बालनरसिंह राणा सिन्धुपाल्चोकमा कार्यरत छन् । उनीहरु सबैको निर्धारित एकबर्षे कार्यकाल पूरा भएपछि प्रहरी प्रधान कार्यालयले सरुवाको तयारी थालेको हो ।

२० भन्दा बढी जिल्लाका एसपीको एक वर्षे कार्यकाल पुगेकाले सरुवा हुन लागेको भए पनि गृहमन्त्रालयमा रहेका मन्त्रीका आफन्तहरूले कसलाई पठाउने मोलमोलाइमा लागेका छन् । सोहीकारण गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट एसपी बढुवा रोकेर जिल्ला प्रहरी प्रमुखको सरुवामा आँखा लगाएको स्रोत बताउँछ । तर, आईजीपी कुँवर आफैंले बनाएको मापदण्ड मिचेर जाने पक्षमा छैनन् ।

सिराहाका एसपी टेकनन्द लिम्बुको पनि एक वर्ष अवधि पुग्न लाग्दा गत सोमबार मौ हटाइएको छ । त्यहाँ नयाँ एसपी खटाइएको छैन । खासगरी तराईका जिल्लामा जानका लागि चर्को प्रतिस्पर्धा छ ।

तराईका जिल्लामा एसपी पठाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठका निकटस्थ व्यक्तिहरूले दैनिकजसो एसपीहरूलाई भेट्ने गरेको स्रोत बताउँछ ।

पर्सामा रहेका शाहको स्थानमा काठमाडौंमा रहेका एसपी कुमोद ढुंगेललाई पठाउने तयारी भएको छ । यस्तै झापामा रहेका दुर्गा रेग्मीको काम चित्त नबुझेको भन्दै उनको स्थानमा नवराज कार्की वा गौतम केसी मध्ये एकलाई पठाउने तयारी भएको छ ।

तर, झापामा अपराध अनुसन्धान कार्यालयमा कार्यरत मिलन केसीले बाजी मार्ने सम्भावना रहेको छ । उनको पनि प्रहरी संगठनमा राम्रै छाप भएकाले झापामा केसीले बाजी मार्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

यस्तै रुपन्देहीको एसपीका लागि दयानिधि ज्ञवाली, चक्रराज जोशी, सन्तोष खड्का, रमेश पण्डितको प्रतिस्पर्धा रहेको छ । पण्डितले शक्तिकेन्द्रबाट दबाब दिए पनि केही महिनाअघि मात्र नुवाकोटको इन्चार्जबाट सरुवा भएकाले उनको सम्भावना निकै कम छ ।

एसपी बढुवामा एक नम्बरमै परेका गौतम केसी लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री रोज राणामार्फत् रुपन्देही जाने प्रयासमा समेतमा छन् । तर, केसीको समेत सम्भावना निकै कम रहेको बताइन्छ । यस्तै झापामा बसुन्धरा खड्काले पनि लविङ गरिरहेकी छिन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनका लागि भावेश रिमाल र शालिग्राम शर्मा पौडेलले आ–आफ्नो च्यानल प्रयोग गरिरहेका छन् । पौडेलले चितवनको डिएसपीको रुपमा काम गरिसकेका छन् भने रिमाल संगठनमा इमान्दार अधिकृतको रुपमा चिनिन्छन् ।

यसैगरी मोरङ बसिसकेका सन्तोष खड्का रुपन्देही नभए काभ्रेको एसपी हुने दाउमा छन् । शान्तिराज कोइराला सिन्धुपाल्चोकको एसपी हुन दौडधुप गरिरहेका छन् । धनकुटाबाट एसपी कृष्ण कोइराला सिआईबीमा र चितवनका कार्की काठमाडौं परिसरमा आउन चाहिरहेका छन् ।

त्यस्तै इन्चार्ज हुन जान खोज्नेहरुमा एसपीहरूमा अपिलराज बोहरा, रविन्द्रबहादुर सिंह, चित्रबहादुर गुरुङ, रामप्रसाद घर्तिमगर, बासुदेव पाठक, रुपेश खड्का, नारायणप्रसाद चिमरिया, श्यामबहादुर खत्री, हरिहरनाथ योगी, श्यामकुमार राई, गोविन्दराज काफ्ले, नरेन्द्र चन्द, राजन भुजेललगायत छन् ।

त्यस्तै, विगतमा इन्चार्ज भइसकेका ऋषिराम कँडेल, अनुपमशमशेर जबरा लगायत पनि जिल्ला इन्चार्ज जान खोजिरहेका छन् । तर, आईजीपी कुँवर संगठनमा कसको कसको क्षमता कति छ, मूल्याकंन गरेर पठाउने रणनीतिमा छन् ।