FLASH NEWS

मकवानपुर गोल्डकपको उपाधि एपीएफलाई


नेपाल आवाज २७ माघ २०८०, शनिबार २२:१२ मा प्रकाशित ११७१ पाठक संख्या

हेटौंडा  – छैटौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता -२०८० को उपाधि विभागीय टोली  सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले हात पारेको छ। आज (शनिबार) भएको फाइनलमा नेपाल एपिएफ क्लबले एनआरटीलाई पराजित गर्‍यो।


निर्धारित समयमा गोल गर्न नसकेपछि खेल पेलान्टी सुटआउटमा पुगेको थियो। पेलान्टी सुटआउटमा एनआरटीका तर्फबाट जय गुरुङ, गोलरक्षक प्रिसो, विकेक गुरुङले गोल गर्न सफल भए भने सरोज तामाङ र अभिशेक लिम्बूले प्रहार गरेको बल बाहिर पुगेको थियो।

त्यस्तै एपिएफका तर्फबाट एनी सेट, कुलदीप कार्की र सुमन श्रेष्ठले गोल गर्न सफल भए भने बुद्धीमान राई र दिपेश धिमालले गरेको प्रहार रोक्नुका साथै क्रसबारमा ठोकिएर बाहिर पुगेको थियो।

त्यसपछि खेल सडनडेथमा पुगेको थियो। सोही क्रममा एनआरटीको तर्फबाट मोहित गुरुङले गोल गर्न सफल भए भने रन्दीप पौडेलले प्रहार गरेको बल एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले रोक्न सफल भए।

एपिएफका लागि कप्तान मणि लामा र फोडे फोफानाले एक–एक गोल गर्दै उपाधि चुमे। उपाधिसँगै एपिएफले रु. १५ लाख नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।

त्यस्तै उपविजेता बनेको (न्यूरोड) एनआरटीले रु. १० लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। खेलको प्लेयर अफ दी म्याच एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक एपिएफका एञ्जल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर एपिएफकै कुलदीप कार्की, उत्कृष्ट मिल्डफिल्डर एनआरटीका जय गुरुङ, उत्कृष्ट फरवार्ड एनआरटीकै जोन क्लोरी घोषित भए। उनीहरूले जनही रु. २० हजार नगदसहित ट्रफी प्राप्त गरे।

उत्कृष्ट प्रशिक्षक एपिएफका सुमन श्रेष्ठ भए भने सर्वाधिक गोलकर्ता अनिश महर्जन सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले स्व. पर्शुराम गौतम स्मृति प्रतिष्ठानले सौजन्य गरेको रोयल बुलेट बाइक प्राप्त गरेका छन्। करिब ५ लाख रुपैयाँ बराबरको मोटरसाइकल प्राप्त गरेसँगै उनी खुशीले गदगद भएका थिए । केही महिना अगाडिदेखि मात्रै एपीएफमा अनुबन्धित भएका उनी हेटौंडाकै हुन् ।

मकवानपुर जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा १२ टोलीको सहभागिता थियो। प्रतियोगिताको व्यवस्थापन डाँफे युवा क्लबले गरेको थियो । वाग्मती प्रदेश खेलकुद परिषद् र हेटौंडा महानगरपालिका र अन्य स्थानीय निकायले कार्यक्रमलाई प्रायोजन गरेका थिए ।