FLASH NEWS

धादिङको गजुरीबाट ६२० केजी गाँजासहित ट्रक तथा चालक नियन्त्रणमा


नेपाल आवाज १५ फाल्गुन २०८०, मंगलवार १४:५२ मा प्रकाशित १९२१ पाठक संख्या

गजुरी – धादिङको गजुरीबाट प्रतिबन्धित लागु औषध गाँजा ६२०.४४ के.जी. सहित १ जना पक्राउ परेका छन् । मंगलवार बिहान विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी उपरीक्षक(एसपी) गौतम कुमार के.सी.को कमाण्डमा खटिएको टोलीले मिनिट्रक तथा चालक नियन्त्रणमा लिइएको हो ।


जिल्ला धादिङ गजुरी गाउँपालिका वडा नं-२ बिहानी पेट्रोल पम्प स्थित पृथ्वी लोकमार्गमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ख ८३०९ नम्बरको मिनिट्रकमा कवाडीजन्य सामाग्रीहरुले छोपी चाउचाउ र विस्कुटको खोल टासेर लुकाई छिपाई राखेको अवस्थामा ४५ प्याकेटमा जम्मा ६२०.४४ के.जी. लागु औषध गाँजा फेला परेको हो ।

बरामद गरिएको गाँजा विक्री प्रयोजनको लागि विदेशी बजारमा लैजादै गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको धादिङ प्रहरी प्रमुख एसपी के.सी.ले बताए ।

बरामद गाँजा, उक्त ट्र्कका चालक सर्लाही लालबन्दी नगरपालिका वडा नं.७ वस्ने वर्ष-३० को सन्तोष कुमार साहलाई ट्रक सहित नियनत्रणमा लिई अन्य थप अनुसन्धान भइरहेको धादिङ प्रहरीले जनाएको छ ।