FLASH NEWS

मिटरब्याज–लघुवित्त पीडितहरुलाई विनासर्त रिहाई गर्न एमालेको माग


नेपाल आवाज १६ फाल्गुन २०८०, बुधबार १८:४८ मा प्रकाशित ८२९ पाठक संख्या

काठमाडौं –  नेकपा एमालेले संसद् भवन प्रवेश गरेर आन्दोलन गर्ने मिटरब्याज–लघुवित्त पीडितहरुलाई विनासर्त रिहाई गर्न सरकारसँग माग गरेको छ।


बुधबार एमाले संसदीय दलले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्दै सरकारको सुरक्षाकमजोरीका कारण मिटरब्याज–लघुवित्त पीडितहरु संसद भवन प्रवेश गरको भन्दै उनीहरुलाई विनासर्त रिहाई गर्दै मुद्दा नचलाउन माग गरेको हो। ४८ जना महिला र एक जना पुरुष आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरि मुद्दा चलाउने तयारी गरेको छ।

त्यस्तै एमालेले सुरक्षा कमजोरी गर्नेलाई कारवाही गर्न माग गरेको छ भने मिटरब्याज–लघुवित्त पीडितको माग सम्बोधन गर्ने सुनिश्चितता गर्न समेत माग गरिएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए। बानेश्वर र सिंहदरबार वरिपरि फुथपाथमा सर्वसाधारणलाई हिड्न समेत रोक लगाएर तारबार लगाएको भन्दै यस्तो काम बन्द गर्न माग गरेको उनले बताए।

जवाफमा गृहमन्त्रीले मिटरब्याज–लघुवित्त पीडितहरुको विनासर्त रिहाई र मुद्दा नचलाउने गरि सहजीकरण गर्ने र मिटरब्याज–लघुवित्त पिडितको माग सम्बोधन हुने गरि वार्तामा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको बर्तौलाले बताए।