FLASH NEWS

सत्ता गठबन्धनमा आयुको जोड घटाउ सुरु


नेपाल आवाज २७ फाल्गुन २०८०, आईतवार ०८:५० मा प्रकाशित ६९७ पाठक संख्या

काठमाडौं – एक वर्षअघि बनेको कांग्रेस–माओवादी गठबन्धन तोडेर एमाले–माओवादीसहितको पाँच दलीय नयाँ समीकरणपछि बनेको सरकारको आयुका विषयमा जोडघटाउ शुरू भएको छ ।


प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग सहकार्य गर्दै सत्ताबाहिर पुर्‍याएको संसद्को ठूलो दल नेपाली कांग्रेसले सरकारको आयुलाई राजनीतिक एजेन्डा बनाएको हो ।

सत्ताच्युत हुनासाथ वैकल्पिक गठबन्धन बनाउने योजना बनाएको कांग्रेस प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएर नयाँ रणनीतिमा लागेको छ। यद्यपि, उसले अहिले सशक्त प्रमुख प्रतिपक्षमा बसेर जनताका आवाज उठाउने जनाएको छ।

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने– ‘हामी बलियो प्रतिपक्षमा नै बसेर जनताका आवाज उठाउँछौं । अहिले सत्ता समीकरणको जोड घटाउ कांग्रेको प्राथमिकतामा छैन । यद्यपि, यो गठबन्धनको आयु लामो नभएको कुरालाई हामीले राजनीतिक रूपमै लिएर अघि बढ्छौं ।’

कांग्रेसकै नेता रामहरि खतिवडाले वर्तमान सत्ता गठबन्धन लामो समयसम्म नटिक्ने दाबी गर्दै भने– ‘गठबन्धनका साथीहरू टुक्राटुक्री जोरजाममा देउसी खेलेर हिँड्नुभएको छ। गठबन्धनलाई बहुमत पुर्‍याउन र सरकार बनाउन घरघरमा भेटी चढाउँदै हिँड्नुपर्ने अवस्था आएको छ। उहाँहरूको ओठमुख सुकेको छ। अरू कसैले बनाइएको गठबन्धनलाई एमालेले पाँच वर्ष टिकाउँछौं भनेर भन्नु मनका लड्डु मात्रै हुन् ।’

उनले यो गठबन्धनभित्रका दलहरूबीच ६ महिना ठूलै मारामार हुने दाबी पनि गरे । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पटकपटक धोका दिने प्रचण्डका विरुद्धमा धोका खाने कांग्रेस र एमाले एक ठाउँमा आउनसक्ने संकेत गर्दै फागुन २४ गतेको सदनमा चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए ।